२४ माघ, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको गणेशमान चोकदेखि धम्बोझी चोकसम्म सुर्खेत रोडमा फुटपाथ निर्माण कार्य सुरु भएको छ ।
नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले डेढ मिटर चौडा फुटपाथ निर्माण कार्यको शुभारम्भ गरेका छन् । राज बिल्डर्सले फुटपाथ निर्माण गर्न थालेको इन्जिनियर चन्दन राज दासले बताए । १ करोड लागतमा बन्न थालेको फुटपाथ चालू आर्थिक बर्षमा सुर्खेत रोडको पश्चिमतर्फ निर्माण गरिने दासले जानकारी दिए । जेठ मसान्तसम्म फुटपाथ निर्माण सम्पन्न हुनेछ ।
नेपालगञ्ज उपमहानगरपालिकाको वीपी चोकदेखि धम्बोझी चोकसम्म मिडियन रेलिङ कार्य सुरु गरिएको छ । नगर प्रमुख प्रशान्त विष्टले मिडियन निर्माण कार्यको अनुगमन गरेका छन् । नगर सौन्दर्यकरण, हरियाली प्रवर्धन र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकको बीच भागमा बृक्षारोपण र रेलिङ निर्माण कार्य सुरु गरिएको नगर प्रमुख विष्टले बताए । ४० लाख लागतमा यसै आर्थिक बर्षभित्र निर्माण कार्य सक्ने गरी नेपाल विल्डर्सले काम थालेको योजना तथा प्राविधिक शाखा प्रमुख भुपेन्द्र बोहोराले जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १९ आलानगरमा सडक स्तरोन्नति र नाला निर्माण कार्य सुरु भएको छ । ३१० मिटर लामो र १० मिटर चौडा सडक स्तरोन्नति तथा ७२.५ सेन्टिमिटर चौडा नाला निर्माण कार्यको नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गरेका छन् ।
आलानगरदेखि फारम टोल जोड्ने उक्त बाटो ग्राभेल र दुईतर्फी नाला आरसीसी ढलान गरिने इन्जिनियर इश्वरी सापकोटाले बताए । विशाल निर्माण सेवाले जेठ १५ गतेसम्म ७० लाख लागतमा निर्माण सम्पन्न गर्ने गरी काम थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here