२१ कार्तिक, नेपालगन्ज । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारअन्तर्गत यस वर्षको काग तिहार तथा धनवन्तरी जयन्ती आज मनाइँदै छ ।
कार्तिक कृष्ण त्रयोदशीका दिन पर्ने यस पर्वसँगै तिहारको धार्मिक तथा सांस्कृतिक उत्सव प्रारम्भ हुने गर्दछ ।
नेपाली समाजमा कागलाई यमराजको सन्देशवाहकका रूपमा मान्ने धार्मिक विश्वास छ । त्यसैले काग तिहारका दिन बिहानै घरको छत, आँगन तथा खुला स्थानमा कागका लागि खानेकुरा राखेर पूजा गर्ने परम्परा रहिआएको छ ।
यस दिन कागलाई मीठा परिकार, भात तथा अन्य खानेकुरा दिएर पूजा गर्ने चलन छ । धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूतका रूपमा लिइन्छ । कागलाई सम्मानपूर्वक भोजन गराउँदा परिवारमा दुःख, कष्ट तथा अनिष्ट नहुने र शुभ समाचार प्राप्त हुने विश्वास गरिन्छ ।
त्यस्तै, आज भगवान् धनवन्तरीको जन्मजयन्ती पनि मनाइँदै छ । हिन्दू धर्मशास्त्रअनुसार समुद्र मन्थनका क्रममा भगवान् धनवन्तरी अमृतको कलश लिएर प्रकट हुनुभएको धार्मिक मान्यता छ । उहाँलाई आयुर्वेद तथा चिकित्सा विज्ञानका प्रवर्तकका रूपमा सम्मान गरिन्छ ।
धनवन्तरी जयन्तीका अवसरमा आयुर्वेद चिकित्सा पद्धतिसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरूले विशेष पूजा, आराधना र विभिन्न कार्यक्रम आयोजना गर्ने गर्दछन् यस दिनलाई स्वास्थ्य, निरोगी जीवन र दीर्घायुको कामना गर्ने विशेष अवसरका रूपमा समेत लिइन्छ ।
तिथि घटबढका कारण कात्तिक २२ गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here