२१ कार्तिक, नेपालगञ्ज । जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितहरुको सहयोगका लागि बाँकेको डुडुवा गाउँपालिकाले राहत सामाग्री पठाएको छ ।
भूकम्प पीडितहरुको तत्काल राहतका लागि खाद्यान्न सामाग्री र घाइतेहरुको उपचार कार्यमा सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
अध्यक्ष चौधरीका अनुसार चामल १५० बोरा, दाल २० बोरा, खाने तेल ३० पेटी, नुन ६ बोरा, सोयविन २० बोरा, डसना ३०० थान, तकिया ३०० थान, कम्बल १५० थान पठाइएको छ । उक्त राहत सामाग्री जाजकोट र रुकुमपश्चिमका भूकम्पपीडितहरुलाई मंगलवार विहान पठाइएको गाउँपालिकाका जिन्सी शाखा प्रमुख ऋषिराज गौतमले बताए । उनका अनुसार गाउँपालिकाका दुई जना प्राबिधिक विरु चौधरी र भियम्स चौधरीलाई पठाइएको छ ।
राहतका लागि पठाइएको सामाग्री सोमवार राती मध्यरातसम्म तयारी गरि बिहान एक वटा ट्रकमार्फत पठाइएको गाउँपालिका एमआइएस अपरेटर कौशलकुमार कैरातीले बताए । उनका अनुसार भूकम्पपीडितका लागि जाजरकोट र रुकुमपश्चिमका एक सय ५० पीडित परिवारलाई राहत उपलब्ध गराइने छ ।
गाउँपालिकाले भूकम्पमा परि घाइते भएका विरामीहरुलाई उद्धार तथा अस्पतालसम्म पु¥याउनका लागि निःशुल्क एम्बुलेन्स समेत पठाएको छ । गाउँपालिकाले शनिबार दुई जना चालकसहितको एक वटा एम्बुलेन्स जाजरकोट अस्पताल पठाएको अध्यक्ष चौधरीले बताए । एम्बुलेन्सले अहिले घाइतेको उद्धार, आफन्तलाई सेवा दिइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here