२३ असोज, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको भावी नेतृत्वका लागि शिक्षित, अनुभवी र इमानदार व्यक्तित्वको खोजी भइरहेका बेला गोल्डेन एबीसी एकेडेमी नेपालगन्जका प्रबन्ध निर्देशक (एमडी) एवम् सामाजिक अभियन्ता विकास बहादुर सिंह स्थानीय निर्वाचनमा मेयर पदको सशक्त उम्मेदवारका रूपमा अगाडि आउनुभएको छ ।
विगत ३० वर्षभन्दा बढी समयदेखि शिक्षण पेसा र समाजसेवामा निरन्तर सक्रिय सिंह नेपालगन्जमा एक शिक्षित, स्वच्छ छवि भएका र समर्पित नेतृत्वका रूपमा चिनिनुहुन्छ ।
शिक्षा क्षेत्रमा ३ दशकको योगदानः
शिक्षा नै समाज परिवर्तनको मूल आधार हो भन्ने मान्यता राख्ने विकास बहादुर सिंहले आफ्नो जीवनका ३० वर्षभन्दा बढी अमूल्य समय शिक्षा क्षेत्रमा व्यतीत गर्नुभएको छ । गोल्डेन एबीसी एकेडेमीका प्रबन्ध निर्देशकका रूपमा उहाँले हजारौँ बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूलाई अनुशासित, दक्ष र स्वाभिमानी नागरिक बनाउन मुख्य भूमिका खेल्नुभएको छ ।
‘शिक्षा क्षेत्रको लामो अनुभवले मलाई हरेक परिवारका समस्या, युवाको आवश्यकता र नगरको वास्तविक अवस्था नजिकबाट बुझ्ने अवसर दिएको छ । अब त्यो अनुभवलाई सिङ्गो नेपालगन्जको विकास र जनसेवामा लगाउने मेरो सङ्कल्प हो ।’
सामाजिक योगदान र निस्वार्थ जनसेवाः
सिंहको पहिचान केवल एउटा कुशल शिक्षक र व्यवस्थापकमा मात्र सीमित छैन, उहाँ नेपालगन्जका लागि एक सहृदयी र सहयोगी समाजसेवी पनि हुनुहुन्छ । उहाँले नगरवासीका सुख–दुःखमा सधैँ अग्रपङ्क्तिमा रहेर काम गर्दै आउनुभएको छः
अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगः उहाँले नेपालगन्जका दर्जनौँ अपाङ्गता भएका व्यक्तिहरूलाई सहज जीवनयापन र गतिशीलताका लागि ह्विलचेयर वितरण गर्नुभएको छ । उहाँको यो प्रयासले धेरैका लागि ठूलो सहारा बनेको छ ।
धार्मिक तथा सामाजिक सद्भावः नेपालगन्जजस्तो बहुसांस्कृतिक र विविध समुदाय भएको सहरमा हिन्दु तथा मुस्लिम दुवै समुदायका विभिन्न चाडपर्व र धार्मिक यात्रा÷जुलुसका क्रममा सर्वसाधारण तथा श्रद्धालुहरूका लागि पानी तथा फलफूल वितरण गर्ने जस्ता परोपकारी कार्यहरू निरन्तर गर्दै आउनुभएको छ ।
विपद्मा साथः महामारी, बाढी तथा अन्य प्राकृतिक विपद्का बेला प्रभावित परिवारहरूलाई राहत, खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग पु¥याउन उहाँ सधैँ अग्रसर रहनुभएको छ ।
विपन्नलाई शैक्षिक सहयोगः गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र शैक्षिक सामग्री उपलब्ध गराई शिक्षाको पहुँच पु¥याउन उहाँले निरन्तर योगदान दिँदै आउनुभएको छ ।
मेयर पदमा उम्मेदवारीः मुख्य प्राथमिकताहरूः
राजनीतिलाई शक्ति होइन, विशुद्ध सेवाको माध्यम मान्ने सिंहले नेपालगन्जलाई आधुनिक, व्यवस्थित र समृद्ध नगर बनाउन आफ्ना मुख्य प्राथमिकताहरू अघि सार्नुभएको छः
गुणस्तरीय र सर्वसुलभ शिक्षाः नगरभित्रका सामुदायिक विद्यालयको स्तर उन्नति गर्दै प्राविधिक र व्यावहारिक शिक्षामा जोड दिने ।
समावेशी विकास र लक्षित वर्गको कल्याणः अपाङ्गता भएका व्यक्ति, महिला, ज्येष्ठ नागरिक र पछाडि पारिएका समुदायका लागि विशेष लक्षित कार्यक्रम सञ्चालन गर्ने ।
धार्मिक–सामाजिक सद्भाव र पर्यटनः नेपालगन्जको ऐतिहासिक सद्भावलाई जोगाउँदै सांस्कृतिक पर्यटनको विकास गर्ने ।
युवा स्वरोजगार र उद्यमशीलताः युवाहरूलाई प्राविधिक तालिम र उद्यमशीलतासँग जोडेर स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने ।
व्यवस्थित पूर्वाधार र सफा नेपालगन्जः ढल निकास, सडक स्तरोन्नति, फोहोर व्यवस्थापन र हरियाली प्रवद्र्धन गरी नगरलाई सुन्दर र व्यवस्थित बनाउने ।
पारदर्शी र भ्रष्टाचारमुक्त प्रशासनः उपमहानगरपालिकाका सेवा–सुविधालाई प्रविधिमैत्री, जनउत्तरदायी र भ्रष्टाचारमुक्त बनाउने ।
नगरबासीको आशा र विश्वासः
नेपालगन्जका स्थानीय बासिन्दाहरूका अनुसार विकास बहादुर सिंहजस्ता शिक्षित, सरल, सहयोगी र स्वच्छ छविका व्यक्तित्व राजनीतिमा आउनु नगरका लागि खुसीको विषय हो ।
अपाङ्गता भएका व्यक्तिहरूप्रतिको सहानुभूति, चाडपर्वमा देखाउने सद्भाव र ३ दशकको निष्कलङ्क शैक्षिक–सामाजिक पृष्ठभूमि भएका कारण उहाँलाई नेपालगन्जको नेतृत्वका लागि एक अत्यन्त योग्य, इमानदार र भरपर्दो उम्मेदवारका रूपमा हेरिएको छ ।







