३० वैशाख, नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दियास्थित नेपाल भारत सीमा क्षेत्रमा कार्यरत सरोकारवालाहरूका लागि दुई दिने “क्रस–बोर्डर मेकानिज्म” सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तालिमको आयोजना गरेको हो ।
मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण, पीडित संरक्षण, सुरक्षित आप्रवासन प्रवद्र्धन तथा बाल संरक्षण अभ्यासलाई प्रभावकारी बनाउन स्थानीय सरकार, सुरक्षा निकाय, न्यायिक क्षेत्र, गैरसरकारी संस्था तथा सामुदायिक संरचनाबीच समन्वय र प्रतिकार्य प्रणाली सुदृढ गर्ने उद्देश्यले सो तालिम आयोजना गरिएको क्लबले जनाएको छ ।
मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, विषयगत शाखाका प्रमुखहरू, एलसीसीएचटी सदस्यहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिसहित २८ जनाको सक्रिय सहभागिता रहेको थियो ।
तालिमको समापन सत्रमा नगर प्रमुख भाटले मानव बेचबिखनका बढ्दो चुनौतीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै समन्वयसहितको पहल, जनचेतनामूलक अभियान तथा स्थानीय संयन्त्रहरूको प्रभावकारी कार्यान्वयनमार्फत मानव बेचबिखन नियन्त्रणमा नगरपालिका दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
उपप्रमुख अनिता चौधरीले मानव बेचबिखन गम्भीर सामाजिक समस्या भएकाले यसको नियन्त्रणका लागि सबै क्षेत्रको साझा जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक रहेको जनाइन् । उनले महिला, किशोरी तथा जोखिममा रहेका समुदायलाई चेतना, शिक्षा र जीविकोपार्जनका अवसरमार्फत सशक्त बनाउनुपर्नेमा जोड दिँदै नगरपालिकाका नीति तथा कार्यक्रममा संरक्षणसम्बन्धी विषयलाई प्राथमिकता दिने बताइन् ।
त्यसैगरी वडा अध्यक्ष दिलिप गुरुङले समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै प्रारम्भिक जोखिम पहिचान तथा रोकथामका लागि वडा तहको समन्वय सुदृढ गरिने प्रतिबद्धता जनाए । उनले विद्यालय, युवा समूह, स्थानीय प्रतिनिधि तथा समुदायबीच सहकार्य बढाएर सुरक्षित समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।
उक्त तालिममा केशव कोइरालाले सहजीकरण गरेका थिए भने महिला तथा बालबालिका शाखाकी शोभा शर्माले कार्यक्रम सञ्चालन गरेकी थिइन् । सो अवसरमा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बिकेले सुरक्षा परियोजनाको उद्देश्य तथा समग्र परियोजनाबारे जानकारी गराएका थिए । कार्यक्रममा फिल्ड सुपरभाइजर सबित्रा भाटले व्यवस्थापनमा सहयोग गरेकी थिइन् ।
बाँके युनेस्को क्लबका अनुसार तालिमबाट वडा तथा समुदायस्तरमा मानव बेचबिखन विरुद्ध सचेतनामूलक अभियान सञ्चालन गर्ने, स्थानीय सरकार, प्रहरी, सीमा सरोकारवाला र गैरसरकारी संस्थाबीच समन्वय सुदृढ गर्ने, एलसीसीएचटी संयन्त्रलाई पुनःसक्रिय र नियमित परिचालन गर्ने, विद्यालय तथा युवाकेन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बेचबिखन घटनाका लागि द्रुत प्रतिकार्य तथा रिपोर्टिङ प्रणाली विकास गर्ने र पीडितमैत्री संरक्षण, सहयोग तथा सन्दर्भ प्रणाली सुनिश्चित गर्ने लगायतका कर्ययोजानाहरु तयार पािरएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here