नेपालगञ्ज, जेष्ठ ३० — उर्दू साहित्यिक संस्था गुल्जार–ए–अदब द्वारा आयोजित ५ सय ९८औँ श्रृंखलाको तरही मुशायरा गोष्ठी शनिबार नेपालगञ्जस्थित महेन्द्र पुस्तकालयको सभा हलमा सम्पन्न भएको छ।
संस्थाका संरक्षक वरिष्ठ शायर सैय्यद अशफाक रसुल हाश्मी ‘सैय्यद नेपाली’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ शायर अब्दुल लतीफ ‘शौक’ प्रमुख अतिथि तथा “हयात नेपाली” विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
गोष्ठीमा मिसरा–ए–तरह “राज़-ए-दिल अब के सरेआम छुपाया जाए” मा आधारित रही सहभागी शायरहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।
मुशायरामा प्रस्तुत गजलहरूले प्रेम, संवेदना, सामाजिक यथार्थ तथा मानवीय अनुभूतिका विविध पक्षलाई कलात्मक ढंगले अभिव्यक्त गरेका थिए।
कार्यक्रममा अब्दुल लतीफ ‘शौक’, सैय्यद अशफाक रसुल हाश्मी ‘सैय्यद नेपाली’, मुस्तफा अहसन कुरैशी ‘अहसन’ (अध्यक्ष, गुल्जार–ए–अदब), हयात नेपाली, इस्माइल अन्सारी, सैय्यद आदिल सरवर ‘सरवर नेपाली’, मेराज अहमद ‘हिमालय’, मोहम्मद आरिफ अन्सारी, आसिम सरवर, शाहिदा शाह ‘वाहिदी’ तथा जियाउल हक हल्वाई लगायतका शायरहरूले गजल वाचन गर्नुभएको थियो।
प्रमुख अतिथि अब्दुल लतीफ ‘शौक’ ले गुल्जार–ए–अदबले लामो समयदेखि निरन्तर रूपमा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएकोमा खुसी व्यक्त गर्दै संस्थाका सम्पूर्ण शायर तथा साहित्यप्रेमीहरूलाई बधाई दिंदै यस्ता कार्यक्रमहरूले उर्दू भाषा, साहित्य र शायरीको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताउँदै आगामी दिनमा पनि निरन्तरताका साथ अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो।
गुल्जार–ए–अदबले विगत लामो समयदेखि प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा तरही मुशायरा आयोजना गर्दै आएको छ। संस्थाको यो निरन्तर प्रयासले नेपालगञ्जमा उर्दू साहित्यिक वातावरणलाई थप सशक्त बनाउँदै आएको साहित्यप्रेमीहरूको भनाइ रहेको छ।
कार्यक्रममा बब्बु फारुकी र राशिद कमाल लगायतका व्यक्तिहरुको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका महासचिव मोहम्मद आरिफ अन्सारीले गर्नुभएको थियो।








