२३ वैशाख, नेपालगन्ज । बाँके प्रहरीले कर्तव्य ज्यानमा संलग्न ६ जना मानिसलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला कैलाली लम्कीचुहा न.पा. १ बस्ने वर्ष १९ को दिपेन्द्र राज गिरी, ऐ.ऐ.बस्ने वर्ष २० को बिबियस कुवँर, ऐ.ऐ.बस्ने वर्ष १८ को सुशिल खत्री, ऐ. ऐ. बस्ने वर्ष २० को खकेन्द देवकोटा, जिल्ला कालिकोट पचालझरना गा.पा. ६ बस्ने वर्ष १८ को सन्तोष संज्याल र जिल्ला सुर्खेत वि.न.पा. ३ बस्ने वर्ष २० को रुपेश थापा रहेका छन् ।
२०८३।०१।२१ गते साँझ जिल्ला बाँके ने.गं.उ.म.न.पा. १२ बेलासपुर बस्ने वर्ष २१ को प्रितम अधिकारीको ब्रतबन्ध कार्यक्रममा सहभागी हुन आएका निजका साथीहरु राती उक्त कार्यक्रम पश्चात सोही स्थानमै बस्ने भए पछि निज प्रितम अधिकारीको घरमा बस्ने ठाउँ नपुगेर सबै साथीहरु सँगै नजिकै रहेको निजको आफन्त पर्ने दिपेन्द्र रोकायको घरमा एउटै कोठामा बसी रमाइलो गर्ने क्रममा २२ गते विहान अं. २ बजेतिर सँगै रहेका दिपेन्द्र राज गिरी र विशाल चन्द ठकुरी बिच सामान्य विषयलाई लिएर आपसमा वादविवाद भइ विवाद पश्चात दिपेन्द्र राज गिरी उक्त स्थानबाट बाहिर निस्किएर आफ्नो घर कैलाली लम्कीचुहा न.पा.बस्ने साथीहरु लाई फोन मार्फत सम्पर्क गरी नेपालगन्ज बोलाएकोमा निज दिपेन्द्रका साथीहरु बिहान अंदाजी ५ बजेतिर कैलाली लम्कीचुहा न.पा. बाट मोटरसाईकलमा नेपालगन्ज पुगी दिपेन्द्र र निजका साथीहरु जम्मा भई एकसाथ विशाल चन्द ठकुरी लगायतका व्यक्तिहरु सुतिरहेकै कोठामा गई बियरका बोतल, चक्कु समेतका धारिलो हतियार प्रहार गरे पछि विशाल चन्द ठकुरी आफ्नो ज्यान जोगाउन उक्त कोठाबाट भाग्न खोज्दा समेत निजहरु सुतेको घर देखी अंदाजी १०० मिटर सम्म लखेट्दै निरन्तर धारिलो हतियारले प्रहार गर्दा बाटोमा लडेपछि घटनामा संलग्नहरु घटना स्थलबाट भागी फरार भएकोमा घाइते विशाल चन्द ठकुरीको सोहि दिन बिहान अंन्दाजी ६ः०० बजेको समयमा संजीवनी कलेज अफ मेडिकल साइन्सेजमा मृत्यु भएको र अर्का घाइते जिल्ला जुम्ला चन्दननाथ न.पा. ४ बस्ने वर्ष २० को योगेन्द्र कामी सोहि दिन उपचार पश्चात डिस्चार्ज भएको बाँके प्रहरीले जनाएको छ ।
घटनामा संलग्न व्यक्तिहरु मध्ये चार जनालाई जिल्ला बर्दिया ठाकुरबाबा न.पा. २ अम्रेनी नजिकबाट पक्राउ गरिएको साथै दुई जना व्यक्तिहरुलाई नेपालगन्जबाट पक्राउ गरी आवश्यक थप अनुसन्धान कार्य भइरहेको छ ।
पक्राउ परेकाहरुको साथबाट चक्कु १ थान, सु.प.प्र.०१–०१४ प १२५६ नम्बरको ल्क् २०० मोटरसाईकल, बियरका बोतल र फुटेका बोतलका टुक्राहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक पातलीले जानकारी गराएका छन् ।









