१२ कार्तिक, नेपालगन्ज । आफ्नो श्रीमानको दीर्घायु, सुस्वास्थ्य तथा सुखमय दाम्पत्य जीवनको कामना गर्दै आज करवा चौथ पर्व श्रद्धा र उल्लासका साथ मनाइँदै छ ।
विशेषगरी तराई–मधेश क्षेत्रमा बसोबास गर्ने अवधी समुदायका महिलाले परम्परागत धार्मिक विधि, पूजापाठ तथा व्रत बसेर यो पर्व मनाउने गरेका छन् ।
करवा चौथ हिन्दू धर्मावलम्बी महिलाका लागि विशेष महत्व बोकेको पर्व हो । यस पर्वमा विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु र परिवारको सुख, शान्ति तथा समृद्धिको कामना गर्दै दिनभरि व्रत बस्ने परम्परा छ ।
महिलाहरूले बिहानै स्नान गरी स्वच्छ तथा आकर्षक पहिरन लगाउने, शृङ्गार गर्ने र पूजाको तयारी गर्ने गर्दछन् ।
पर्वका अवसरमा महिलाहरूले परम्परागत पहिरन, चुरा, टीका, मेहन्दी तथा अन्य शृङ्गारका सामग्री प्रयोग गरी उत्सव मनाउने गरेका छन् । कतिपय स्थानमा महिलाहरू सामूहिक रूपमा भेला भई करवा चौथको कथा सुन्ने, पूजापाठ गर्ने तथा एकअर्कालाई पर्वको शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ ।
धार्मिक मान्यताअनुसार करवा चौथको व्रत सूर्योदयदेखि चन्द्रोदयसम्म बस्ने गरिन्छ दिनभरि निराहार तथा निर्जला व्रत बसेका महिलाले साँझ चन्द्रमाको दर्शन गरी पूजा गरेपछि श्रीमानको अनुहार हेरेर व्रत समापन गर्ने परम्परा छ ।
चन्द्रमालाई अघ्र्य दिएर श्रीमानको हातबाट पानी ग्रहण गरेपछि व्रत पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।
अवधी समुदायमा करवा चौथले धार्मिक आस्था र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने पर्वका रूपमा स्थान पाएको छ ।
यस पर्वले श्रीमान–श्रीमतीबीचको प्रेम, विश्वास, समर्पण तथा पारस्परिक सद्भावको सन्देश दिने विश्वास गरिन्छ । पर्वका अवसरमा परिवारका सदस्यहरूबीच भेटघाट, आत्मीयता र खुसी साटासाट गर्ने वातावरणसमेत बन्ने गरेको छ ।






