२५ फागुन, नेपालगञ्ज । हिन्दुहरुको महान पर्व महाशिवरात्री भगवान शिवको पूजाआराधना गरि श्रद्धाभक्तिपूर्वक मनाइँदै छ ।
महाशिवरात्री अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिव र माता पार्वतीसँग सम्बन्धित प्रमुख पर्व हो ।
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरू मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवाय मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।
ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ ।
निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अंग मानिन्छन् ।
शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ ।
यसबीच महाशिवरात्री पर्वको अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, बाँकेको सहकार्यमा शुक्रवार पानी वितरण गरिएको छ ।
नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिरमा पुजाअर्चना गर्न पुगेका श्रद्धालुहरुलाई नेपाल प्रहरी श्रीमती संघ बाँके जिल्ला अन्तर्गत संघमा आबद्व सदस्यहरु, जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी कर्मचारीहरुको उपस्थितिमा शुद्ध पिउने पानी वितरण कार्यक्रमको आयोजन गरिएको थियो ।
यसैगरि शुक्रवार नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सव मनाएको छ भने ११४औं अन्तर्राष्ट्रिय नारी दिवस पनि विविध कार्यक्रम गरि मनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here