११ वैशाख, नेपालगन्ज । विभिन्न कार्यक्रमको आयोजन गरी आज २०औं लोकतन्त्र दिवस मनाइँदै छ ।
वि.सं. २०६२–६३ सालको जनआन्दोलनको सफलतास्वरूप वि.सं.२०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश प्रत्यक्ष शासन व्यवस्थाको अन्त्य भई जनताको तन्त्रको रुपमा लोकतन्त्रको पुनर्बहाली एवं व्यवस्था भएको ऐतिहासिक दिनको सम्झनामा नेपालमा हरेक वर्षको वैशाख ११ गतेको दिन लोकतन्त्र दिवस सम्झिने र मनाउने गरिन्छ ।
जननिर्वाचित सरकारलाई बर्खास्त गरीकन सत्ता र शक्ति आफ्नो हातमा लिई त्यसबेलाको प्रतिनिधि सभा विघटन गरेर तत्कालीन राजा ज्ञानेन्द्रले निरंकुश प्रत्यक्ष शासन लादेपश्चात बिरोधमा उत्रिएका तत्कालीन बर्खास्त प्रजातन्त्रवादी एवं संसदवादी सात राजनीतिक दल र मुख्यधारमा आउँदै गरेको सामन्तविरोधी माओवादीबीच १२ बुंदे ऐतिहासिक दिल्ली सम्झौता भैसकेपछि एकबद्ध भई लोकतान्त्रिक जनआन्दोलनको विफुल्को देशभरि फुकेका थिए ।
यसरी वि.सं.२०६२ साल चैत्र २६ गतेबाट शुरु भई १९ दिनसम्म चलेको शान्तिपूर्ण जनआन्दोलनको अगाडि राजा ज्ञानेन्द्रले घुँडा टेके र अन्ततः वि.सं.२०६३ साल बैशाख ११ गतेको दिन आफूले खोसेको सत्ता र शक्ति सबै जनतालाई नै फिर्ता दिन राजी भएलगतै विघटित प्रतिनिधि सभाको पुनःस्थापना गरियो र नेपाली जनताले लोकतन्त्र प्राप्त गरे ।
जसमा २५ वा सोभन्दा बढि वीर नेपाली सपूत सहिद भए भने कयौं घाइते भएका थिए ।
राजा ज्ञानेन्द्रको एकतन्त्रीय शासन व्यवस्थाको अन्त्यसंगै ६२–६३ सालको जनआन्दोलनले सफलता प्राप्त गर्यो । तत्पश्चात लोकतान्त्रिक शासन व्यवस्थाले मूर्तरूप लियो र जनताले गुमाइसकेको स्वाधीनता, सार्वभौमता र प्रजातन्त्रको पूनर्वहाली भएको दिन मानी बैशाख ११ को दिनलाई लोकतन्त्र दिवसको दिनको रुपमा मनाइँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here