नेपालगन्ज, जेठ १५ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सहयोग सामग्री वितरण गरेको छ ।
क्लबले प्लान इन्टरनेसनल नेपालको साझेदारीमा उपरोक्त पालिकाका विभिन्न विद्यालयमा अध्ययनरत प्रायोजित तथा आर्थिक रूपमा कमजोर अवस्थाका बालबालिकाहरूको शैक्षिक गुणस्तर बढाउन उनिहरुलाई आवश्यक शैक्षिक सामग्री वितरण गरेको हो ।
शिक्षा केवल अधिकार मात्र नभई उज्ज्वल र सशक्त भविष्यको आधार पनि हो भन्ने विश्वासका साथ विपन्न तथा जेहेन्दार बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
शैक्षिक सामाग्री वितरणको क्रममा गुलरिया नगरपालिका वडा नं. १२ मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका ७ जना र गोरखकाली विद्यालयका २ जना गरी ९ जना विद्यार्थीलाई सहयोग प्रदान गरिएको थियो ।
त्यसैगरी मधुवन नगरपालिकाको त्रिभुवन माध्यमिक विद्यालयका १४ जना तथा बढैयाताल गाउँपालिका वडा नं. ७ स्थित भगवती संस्कृत माध्यमिक विद्यालयका ५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको जनाउँदै सो कार्यक्रमबाट कुल २८ जना विद्यार्थी लाभान्वित भएको क्लबले जनाएको छ ।
प्लान इन्टरनेसनल नेपालका अनुसार शैक्षिक सामाग्री वितरण कार्यक्रमले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ । आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएर बालबालिकामा आत्मविश्वास अभिवृद्धि गर्ने, विद्यालयमा नियमित सहभागिता बढाउने तथा सकारात्मक सिकाइ वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको प्लानले जनाएको छ ।
यस्ता कार्यक्रममार्फत बालबालिकाको शिक्षामा निरन्तर लगानी गर्दै उनीहरूको उज्ज्वल भविष्य निर्माण, अवसरको सुनिश्चितता तथा सकारात्मक परिवर्तनका लागि सहकार्यलाई अझ सशक्त बनाउँदै जाने योजना र उदेश्य रहेको बाँके युनेस्को क्लबले जनाएको छ ।






