१२ चैत्र, नेपालगन्ज । नवदुर्गा भगवतीको पूजाआराधना गरी आज चैते दसैं मनाइँदै छ ।
चैत्र महिनामा पर्ने नवरात्रिलाई चैते दसैं भनिन्छ । चैते दसैं यसमा पनि बडादसैंमा जस्तै भगवती जगदम्बा दुर्गा भवानीको विशेष आराधना, उपासना गरिन्छ । यद्यपि वर्षभरिका चारवटै नवरात्र (चैत्र शुक्लपक्ष, आषाढ शुक्लपक्ष, आश्विन शुक्लपक्ष र पौष शुक्लपक्ष) मा शक्तिस्वरूपा भगवतीको पूजाआराधना गर्ने विधान
छ ।
चैत्र महिनामा पर्ने नवरात्रिलाई वासन्ती नवरात्र (चैते दसैं) भनिन्छ । यस नवरात्रमा स्वयं मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रले भगवतीको उपासना गरी शक्ति आर्जन गर्नुभएको प्रसंग रामायणलगायत इतिहास पुराणमा पाइन्छ । रावणसँगको युद्धका क्रममा शक्तिहीन हुँदा भगवानले आद्याशक्ति भगवती जगदम्बाको उपासना गरी भगवतीबाट विशेष शक्ति र आशीर्वाद प्राप्त गर्नुभयो । यसरी शक्ति प्राप्त भएपछि रावणलाई पराजित गरी विजयोत्सवका रूपमा भगवानकै आज्ञाले विजया दशमी मनाउने गरिएको हो ।
मार्कण्डेय पुराणमा स्वयं भगवतीले यस समयमा गरिने महापूजाको विधिसमेत बताउनुभएको छ । नवरात्रको प्रथम दिन विधिपूर्वक घटस्थापना गरी भगवतीलाई आव्हान गर्ने विधान छ । चैते दसैं दिन शात्रोक्त विधिले घटस्थापना गरी जमरा राखिन्छ र दैनिक रूपमा भगवतीको विशेष पूजा गरी दुर्गा सप्तशती, देवी भागवतलगायत पाठ गरिन्छ । जनजनमा उत्साह र उमंग जगाउने पर्वका रूपमा दसैंलाई लिइन्छ । नवरात्रको अवसरमा भगवतीको उपासना गरी आशीर्वाद प्राप्त गरिन्छ । भगवानको जन्मोत्सवमा भगवानको पूजा उपासना गर्नाले भगवत् कृपा प्राप्त भई मानिसको कल्याण हुन्छ । मुख्य दशैंमा झै चैते दशैंमा पनि दुर्गा पुजा गरी मिष्ठान्न भोजन चढाइन्छ । देवी मन्दिरहरुमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरिन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरुलाई बनाई तुल्याई खाई रमाइलो गरी चैते दशैं मनाइन्छ । आज अशोकको फूल खाने गरिन्छ । फुल खाँदा रोगब्याधी नष्ट हुने आम विश्वास छ ।







