४ मंसिर, नेपालगञ्ज । देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन आइतवार सम्पन्न भएको छ ।
केही सामान्य घटना बाहेक देशभर मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको दोस्रो कार्यकालका लागि भएको यस निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि २ हजार ४ सय १२ उम्मेदवारमध्ये १६५ जनालाई र सातवटै प्रदेश सभाका लागि ३ हजार २ सय २४ जना उम्मेदवारमध्ये ३३० जनालाई मतदान गरेका छन् ।
४० प्रतिशत सदस्य भने समानुपातिक निर्वाचन पद्धतिमार्फत् दलीय मतका आधारमा निर्वाचित हुनेछन् ।
यसबीच निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना आइतवारबाट हुने जनाएको छ ।
उक्त निर्वाचनको मतगणना आइतबार राति ९ बजेबाट सुुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा उनले काठमाडौंसहित तराईका जिल्लामा आइतबारबाटै मतगणना हु्ने जानकारी दिएका हुन् ।
हिमालीको जिल्लाको सोमबार बिहान ५ बजेबाट मतगणना सृुरु हुने जानकारी दिएका उनले प्रत्यक्षतर्फको ८ दिनभित्र र समानुपातिक तर्फको २२ मंसिरभित्र नजिता राष्ट्रपतिलाई बुझाउने जानकारी दिए ।
यता ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको बाँकेमा १३८ मतदान स्थलमा ३ सय ८० मतदान केन्द्रमा भएको मतदानको मतपेटिका संकलन गरि गणना गर्नको लागि संबन्धित निर्वाचन क्षेत्रमा नै तयारी अघि वढाइएको हो ।
बाँकेका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश धनसिंह महरले बाँके निर्वाचन क्षेत्र नं. २ को नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयको सभा हलमा जालीको बार निर्माण गर्नुको साथै सिसिटिभि जडान समेत गरिएको जानकारी दिएका छन् ।
यसैगरी बाँके निर्वाचन क्षेत्र नं. १ मुख्य निर्वाचन अधिकृत यमप्रसाद बस्तोलाले राप्तीसोनारी गाउँपालिका सभाहलमा मतगणनाको लागि जालीतारको घेराबन्दी गरी सिसिटिभि जडानलगायतको आवश्यक तयारी पुरा भएको जानकारी दिए ।
यस्तै क्षेत्र नं. ३ को कपास विकास समितिको कार्यालय परिसरमा मतगणनाको लागि जालीतारको घेराबन्दी गरी सिसिटिभि जडानलगायतको आवश्यक तयारी अघि बढाईएको क्षेत्र नं. ३ का मुख्य निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिएका छन् ।
तीवटै निर्वाचन क्षेत्रमा मतपेटीको सुरक्षाको लागि पनि सिसिटिभि क्यामेरा जडान गरिएको जनाइएको छ ।
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आइतबार सम्पन्न निर्वाचनमा आयोगले अपेक्षा गरेभन्दा केही कम मत खसेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले पत्रकार सम्मेलन गर्दै भने, ‘यो मत हामीले अपेक्षा गरेभन्दा केही थोरै हो, केही सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।’ २०७४ सालको प्रतिनिधिसभातर्फको ६७.६३ प्रतिशत मत खसेको थियो ।
छ महिनाअघि भएको स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मतदाताले मतदान गरेका थिए । त्यसबेला देशभरबाट १ करोड १८ लाख ५६ हजार मत खसेको थियो । स्थानीय तह निर्वाचनमा प्रदेश १ मा ६५.३५ प्रतिशत, मधेसमा ६७.६९ प्रतिशत, बाग्मतीमा ६४.१६ प्रतिशत, गण्डकीबाट ६८.२८ प्रतिशत, लुम्बिनीमा ६६.७९ प्रतिशत, कर्णालीमा ७० प्रतिशत र सुदूरपश्चिममा ६५.८० प्रतिशत मतदान भएको थियो ।
यस्तै निर्वाचन आयोगले १५ स्थानमा मतदान स्थगित भएको जनाएको छ । आइतबार साँझ निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गुल्मी, सुर्खेत, नवलपरासी, बाजुराका १५ स्थानमा मतदान स्थगित गरिएको बताएका छन् । 
उनले भने, ‘मतदानलाई शान्तिपूर्ण र सहज रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न खोजे पनि सुर्खेत, नवलपरासी, गुल्मी, बाजुरा जिल्लाका १५ स्थानमा मतदान स्थगन हुन पुगेको छ ।’ थपलियाले स्थगित भएको स्थानमा २ दिनभित्र मतदान गर्ने वातावरण निर्माण गर्न निर्देशन दिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here