२२ श्रावण, नेपालगञ्ज । डुडुवा गाउपालिकाको १२औ गाउसभामा गणपुरक संख्या नपुगेर स्थागित भएको छ ।
गाउँपालिका अध्यक्षद्वारा आव्हान गरिएको १२औ गाउसभा बैठकमा नेकमा एमाले र जनता समाजबादी पार्टीबाट निर्वाचित बहुमत सदस्यहरु (२६ जना) अनुपस्थित भएकाले लुम्विनी प्रदेश सरकारको गाउसभा÷नगरसभाको संचालन सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ को परिच्छेद ३ दफा ७ (१) को प्रावधान बमोजिम १२ औं गाउँसभाको प्रथम बैठक स्थगित भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार दिउँसो डाँकिएको बैठकमा बहुमत सदस्य उपस्थित नभएपछि साँझ ५ः३० बजे बैठक स्थागित भएको सूचना जारी गरिएको हो ।
सभाको बैठकको जानकारी पाएका डुडुवाका जनताहरुले चासो लिएर उल्लेख्य सहभागिता जनाएका थिए । त्यस अवसरमा उपस्थित हुनुभएका गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले जनताका हितमा काम गर्ने भन्दै जनताको हितविपरित कुनै पनि निर्णय नगर्ने स्पष्ट पार्नुभयो । सभामा पत्रकारहरु समक्ष बोल्दै अध्यक्ष चौधरीले कानून विपरित कुनै पनि निर्णय तथा कार्य नगर्ने भन्दै विपक्षी दलका पदाधिकारीहरु विभिन्न बखेडा झिकेर विवाद गरेको बताउनुभयो ।
जनताले चुनेका जनप्रतिनिधीले काम गर्ने बातावरण नबनाउँदा अनाहकमा जनताले दुःख पाउने भन्दै निकासका लागि अघि बढनुपर्नेमा जोड दिँदै समस्या समाधानका लागि तत्काल प्रयत्न गर्ने अध्यक्ष चौधरीले बताउनुभयो । गाउँसभा बस्न नसकेपछि गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७९।०८० का वार्षिक नीति तथा कार्यक्रम र बजेट समेत ल्याउन सकेको छैन । यसले योजना लगायतका कार्यक्रम प्रभावित भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here