१८ वैशाख, नेपालगन्ज । विश्व शान्तिका अग्रदूत भगवान बुद्धको २५७०औं महापरिनिर्वाण दिवस अर्थात बुद्ध जयन्ती आज देशभर मनाइँदै छ ।
बौद्ध धर्मका अधिष्ठाता भगवान गौतम बुद्धको जीवनमा आधारित जन्म, बुद्धत्व प्राप्ति र निर्वाण प्राप्तिको अवसरमा बुद्ध जयन्ती मनाइने गरिन्छ ।
भगवान् शाक्यमुनि बुद्धको जन्म ई.पू .५६६ मा भएको मानिएको छ । सिंहली मतका अनुसार भगवान् बुद्धको जन्म ई. पू. ५६६ भन्दा पहिले भएको देखिन आउँछ तर केन्टोनिज मतलाई मान्दा ई.पू. ५६६ मा बुद्धको जन्म भएको थिति–मिति मिल्न आउँछ ।
यिनै शाक्यमुनिको जन्म, समाधि अनि ज्ञान प्राप्तिको दिनका रूपमा आज विश्वको उत्तरीदेखि दक्षिणी ध्रुवसम्म, मृत सागरदेखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि बनारसदेखि बेइजिङसम्म आ–आफ्नै तरिकाले बुद्ध जयन्ती मनाइन्छ ।
भौतिक शरीर नाश भए पनि आफ्ना ज्ञान, वचन अनि आध्यात्मिक सीपमार्फत बुद्ध हामी सबैको चित्तमा विराजमान नै छन् । बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मन साथ उत्तरतर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका भन्ने किंवदन्तीहरू सुनिन्छ ।
यसका अनुसार, उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तिम अवतार रहेको जानकारी र जनाऊ भएको मानिन्छ ।
जन्मनसाथ पोखरीमा स्नान गराइएका यिनी सिद्धार्थ गौतमले नुहाएका यो पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ ।
यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतमकी आमा मायादेवीको भने उनी जन्मेको ७ दिनमै दुःखद मृत्यु भएको थियो । अत्यन्त अनुशासित र मर्यादित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह गरेका थिए । सम्पूर्ण जीव–जगत् र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुख सयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन् ।






