बर्दिया, कात्तिक १५ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित युवा सशक्तीकरण तथा रूपान्तरणका लागि नवप्रवर्तन परियोजनाअन्तर्गत बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर परामर्श तथा व्यवसाय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको मुख्य उद्देश्य युवाहरूलाई बजारको मागअनुसारका व्यावसायिक अवसर पहिचान गर्न, सम्भाव्य आयआर्जनका क्षेत्रहरू अन्वेषण गर्न तथा दिगो र आत्मनिर्भर भविष्य निर्माणका लागि स्पष्ट व्यक्तिगत एवं व्यावसायिक लक्ष्य निर्धारण गर्न सक्षम बनाउनु रहेको थियो ।
चारवटा छुट्टाछुट्टै सत्रमा सञ्चालन गरिएको उक्त अभिमुखीकरण कार्यक्रममा प्रत्येक सत्रमा २५ जनाका दरले जम्मा १०० जना युवाहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरू मधुवन नगरपालिकाका वडा नं. १ र २ तथा ठाकुरबाबा नगरपालिकाका वडा नं. ३, ४ र ५ का रहेका थिए ।
उक्त कार्यक्रमको सहजीकरण विनय दिल लामाले गर्नुभएको थियो । कार्यक्रममा परियोजना संयोजक राधेकृष्ण थारुले परियोजनाका उद्देश्य, प्रमुख कार्यपद्धति तथा युवा उद्यमशीलता, रोजगारीका अवसर र आर्थिक आत्मनिर्भरता प्रवद्र्धनमा करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणको महत्वबारे प्रकाश पार्नुभएको थियो । त्यसैगरी, परियोजनाका फिल्ड अफिसरहरू सृजना थारु र सुनिता चौधरीले कार्यक्रमको समग्र व्यवस्थापन, समन्वय तथा सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
अभिमुखीकरण कार्यक्रम सहभागितामूलक कार्यक्रम दृश्याङ्कन विधि मार्फत सञ्चालन गरिएको थियो । कार्यक्रममा मेटाकार्ड अभ्यास, अन्तरक्रियात्मक छलफल तथा सहभागितामूलक समूहगत क्रियाकलापहरू समावेश गरिएका थिए । सहभागीहरूले स्थानीय बजारको माग, सम्भावित व्यवसायका अवसरहरू, उपभोक्ताको रुचि तथा दिगो उद्यम स्थापना गर्न आवश्यक स्रोतसाधन र सीपका विषयमा जानकारी हासिल गरेका थिए । विशेषगरी आयआर्जन वृद्धि तथा घरपरिवारको जीविकोपार्जनमा सुधार ल्याउन सक्ने उत्पादनमूलक र सेवामूलक व्यवसायका सम्भावनाहरू पहिचान गर्न जोड दिइएको थियो ।
सहभागीहरूले बजारको सम्भाव्यता मूल्याङ्कन, व्यावसायिक प्रतिस्पर्धाको अवस्था बुझ्ने, सम्भावित जोखिम पहिचान गर्ने तथा स्थानीय बजारको माग, व्यक्तिगत रुचि, सीप, उपलब्ध स्रोतसाधन र लगानी क्षमताका आधारमा उपयुक्त व्यवसाय छनोट गर्ने विषयमा व्यावहारिक ज्ञान हासिल गरेका थिए ।
कार्यक्रमले युवाहरूलाई आफ्ना व्यक्तिगत आकांक्षा, रुचि र करियरसम्बन्धी लक्ष्यहरूलाई उपलब्ध आर्थिक अवसरहरूसँग जोडेर अघि बढ्नसमेत प्रेरित गरेको थियो ।
कार्यक्रममा आफ्ना अनुभव तथा प्रतिक्रिया व्यक्त गर्दै सहभागीमध्येकी कल्पना थारुले अभिमुखीकरण कार्यक्रम अत्यन्त उपयोगी, जानकारीमूलक र व्यावहारिक रहेको बताउनुभयो । उहाँका अनुसार आफ्नो रुचि, सीप, उपलब्ध स्रोतसाधन तथा बजारको सम्भावनाका आधारमा उपयुक्त व्यवसाय पहिचान र छनोट गर्ने विषयमा कार्यक्रमले महत्वपूर्ण ज्ञान प्रदान गरेको छ ।
युवा सशक्तीकरण तथा रूपान्तरणका लागि नवप्रवर्तन परियोजना २ प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा कार्यान्वयन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here