पत्रकार महताराको पुुस्तक विमोचन

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशमशेरमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको बताएका छन् । सोमबार बिहान बर्दियाको सदरमुकाम गुलरियामा पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि त्यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको उल्लेख गरे ।
पूर्व सभामुखसमेत रहेका नेता महराले राष्ट्रिय हित विपरीत एमसीसी पास हुन नसक्ने धारणा व्यक्त गरे । उनले भने ‘संशोधन र परिमार्जनबिना एमसिसी पास हुन सक्दैन ।’

कार्यकर्ताले राखेको जिज्ञासामा उनले पार्टी शहरीया र बुर्जुवाकरण हुँदै गएकोमा चिन्तासमेत व्यक्त गरे । ‘शहरीया र बुर्जुवाकरण हुँदै गएको पार्टीलाई फेरि पनि जनताको पार्टी बनाउनका लागि हामी गाउँ फर्किने अभियान सञ्चालन गरेका छौँ’ उनको भनाइ थियो, ‘नेतादेखि कार्यकर्तासम्म सबै जनतामा फर्किन आवश्यक छ ।’
पुस्तकले क्रान्तिको मूल्यबोध गराउनुका साथै माओवादी आन्दोलनलाई संस्थागत गर्नमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । फागुन १ गते जनयुद्ध दिवसको अवसरमा आयोजित बारबर्दियामा भएको कार्यक्रमलाई सम्बोधन गर्न आइतबार बर्दिया आइपुगेका हुन् ।

गुलरियाको कृष्णसार कटेजमा माओवादी केन्द्र गुलरिया नगर समितिले आयोजना गरेको कार्यक्रममा बाँके जिल्लाका नेता तथा पार्टी केन्द्रीय सदस्य अञ्जना चौधरी, लुम्बिनी प्रदेश समिति सदस्य तथा बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारु ‘कबिर’, प्रदेश समिति सदस्य कोलराज पुरी, बिनायक रसायली, गुलरिया नगर समितिका अध्यक्ष गेहेन्द्र ढकाललगायतका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो । महरा कमरेडलाई अन्त जिल्लाको कार्यक्रममा जान हतार भएकोले यस कार्यक्रमलाई अझ व्यवस्थित र बृहत् बनाउन नसकिएको नगर अध्यक्ष गेहेन्द्र ढकलले बताए ।

पत्रकार महताराले जनयुद्धको समयमा आफूले पत्रकारिताको क्रममा भोगेका अनुभव र अनुभूतिहरुलाई पुस्तकमा समेटेका छन् । पुस्तकका बारेमा प्रेस सेन्टर, नेपालका पूर्व अध्यक्ष महेश्वर दाहाल, वरिष्ठ पत्रकार डा.दीपेन्द्र रोकाया, पत्रकार महासङ्घका पूर्व सचिव प्रभात चलाउनेले टिप्पणी लेख्दै यसले कठिन समयको स्मरण गराएको बताए । उनीहरुले भनेका छन्, ‘पत्रकार मात्र होइन ‘जुग जगाउँदाखेरि’ पुस्तक सबैका लागि निकै पठनीय र सङ्ग्रहणीय रहेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here