नेपालगन्ज, जेठ १ । बर्दिया जिल्लाको मधुवन र गुलरिया नगरपालिकामा स्थानीय तहमा युवा सहभागिताको कार्यविधि निर्माण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यशाला सम्पन्न गरिएको छ ।दुबै पालिकामा बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यशाला सम्पन्न गरिएको हो । कार्यशालाको प्रमुख उद्देश्य राष्ट्रिय युवा परिषद्ले विकास गरेको सन्दर्भ निर्देशिकामा आधारित रहेर स्थानीय तहको युवा सहभागिता सम्बन्धि आफ्नै कार्यविधि निर्माण गर्नु रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । मधुवन नगरपालिका वडा नम्बर ४ को आयोजनामा मधुवनमा सञ्चालन गरिएको युवा सहभागिता सम्बन्धी अभिमुखीकरण वडा नम्बर ४ का वडा अध्यक्ष बलिराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि मधुवनका मेयर तेजबहादुर भाटले स्थानीय तहमा युवा सहभागिता सम्बन्धि आफ्नै कार्यविधि नहुँदा काम गर्न समस्या भएकोले सो निर्माणका लागि सल्लाह सुझाव लिईएको बताउनुभयो । कार्यक्रममा मधुवन नगरपालिकाका प्रवक्ता मेकबहादुर गुरुङले युवा सहभागिता विना विकास निर्माणसंगै कुनै पनि गतिविधि सफल नहुने कुरामा जोड दिनुभयो भने सबै नौ वटै वडाका वडा अध्यक्षहरूले पनि युवा मुद्दाहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने कार्यविधि आवश्यक रहेको बताउनुभयो । सोही प्रकारले नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण भण्डारीले समुदायलाई युवाकेन्द्रित कार्यक्रमहरूको बारेमा जान्न सहयोग गर्ने र युवाहरूलाई संलग्न हुन प्रेरित गर्ने कार्यविधि निर्माणमा जोड दिनुभयो । कार्यक्रममा युवासम्बन्धित नीतिहरू, स्थानीय सरकारका अभ्यासहरू र निर्णय प्रक्रियामा युवाहरूलाई संलग्न गराउनुको महत्वको बारेमा छलफल केन्द्रित रहेको थियो । किशोरकिशोरी र युवाहरूलाई बसोबासस्तरीय योजनाको क्रममा आफ्नै योजनाहरू प्रस्ताव गर्ने प्रक्रियाको बारेमा पनि सो अवसरमा जानकारी गराइएको थियो ।बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द प्रसाद लामिछानेले युवाहरूलाई आत्मविश्वासका साथ आफ्नो आवाज उठाउन प्रोत्साहित गर्ने खालको निति निर्माण गरिनुपर्ने माग गर्नुभयो । सोही प्रकारले गुलरिया नगरपालिकाको आयोजनामा गुलरियामा पनि स्थानीय तहमा युवा सहभागिता सम्बन्धि ढाँचा बारेको एक दिने कार्यशाला कार्यक्रम सम्पन्न गरियो । कार्यशालाको अध्यक्षता गर्दै गुलरिया नगरपालिकाकी उपमेयर साबित्रा गौतमले स्थानीय तहमा युवाहरूको बढ्दो संलग्नताले वडा र नगरपालिकामा विकास कार्यलाई गति दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी वर्षको लागि नगरपालिकाको बजेट तर्जुमा गर्दा युवाका मागहरू सम्बोधन गरिने पनि बताउनुभयो । बाँके युनेस्को क्लबका उप निर्देशक गोविन्द प्रसाद लामिछानेले स्थानीयतहमा युवा सहभागिताको महत्वका बारेमा सरोकारवालाहरूलाई जानकारी गराउने उदेश्यले कार्यशाला आयोजना गरिएको बताउनुभयो । मधुवन र गुलरिया दुबै पालिकामा आयोजित कार्यशालामा सबै वडाका किशोरी, युवा र वडा अध्यक्षहरु गरी करिब ५०–५० जनाकोे सक्रिय सहभागिता रहेको थियो । दुबै कार्यशालाको सहजीकरण बसन्तकुमार बीसीले गर्नुभएको थियो भने क्लबका कार्यक्रम अधिकृत जनकराम थारु र फिल्ड सुपरभाइजरहरु नग्मा मनिहार तथा मिनु थारुले पनि सहयोग थर्नु भएको थियो ।