१२ वैशाख, नेपालगन्ज । वैशाख १२ को विनाशकारी भूकम्प गएको आज १० वर्ष भएको छ ।
गोरखा भूकम्पको १०औं स्मृति दिवस आज विविध कार्यक्रमकोे आयोजना गरी मनाइँदैछ ।
विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो ।
बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो । अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको थियो । अति प्रभावित र प्रभावित जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकायका भवन, सडक र खानेपानी आयोजनामा भूकम्पले क्षति पुगेको थियो ।
काष्ठमण्डप जसको नामबाट काठमाडौँ सहर रहन गयो । त्यही संरचना नै धुलो–पीठो बनाएको भूकम्पले धरहरालाई पनि ढालेको थियो । करिब ८ वर्षपछि वर्ष २०८० मा आइपुग्दा काष्ठमण्डप र धरहरा फेरि उभिएको देख्न सकिने भएको छ । दरबार स्क्वायरहरु अब फेरि उभिएको देखिन थालेको छ । नेपाल भूकम्पीय जोखिमका हिसाबले पनि उच्च जोखिममा रहेको देश हो । भूकम्पीय जोखिमको उच्चता भए पनि जोखिम न्यूनीकरणका लागि भने खासै पहल भएको पाइँदैन । भूकम्प कुनै जनाऊ दिएर आउँदैन । तसर्थ, अबका दिनमा भूकम्पीय विनाश र जनधनको नाश कम गर्न संरचना निर्माणमा कडाइ अनि जनजागरणमा केन्द्रित हुन जरुरी देखिन्छ ।
जमिनमुनिका प्लेटहरूको चलायमानका कारणले आउँदा पुस्ताले पनि भूकम्पको जोखिम सहन गर्नै पर्नेछ । भूकम्प टार्न नसके पनि यसको जोखिम न्यूनीकरण गर्न सबै जना लागि परौँ ।