७ असोज, नेपालगञ्ज । नेपालीहरुको महान पर्व विजया दशमी अर्थात बडा दशैं आज हर्षाेल्लासका साथ मनाइँदै छ ।
असत्यमाथि सत्य तथा आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको शास्वत सन्देश दिने यस पर्वमा दुर्गा भवानीको विभिन्न ९ रुपको पूजा उपासना गरिन्छ । यस अवधिलाई नौरथा भनिन्छ ।
सनातन धर्मावलम्बी भक्तजनहरुले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् ।
नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
यस वर्षको बडादशैँ अर्थात् दुर्गा पक्षको सुरुवात असोज २८ गते आइतबारदेखि भएको थियो । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको थियो ।
नेपाल पञ्चांग निर्णायक समितिले विजया दशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११ः२ बजेको साइत शुभ रहेको जनाएको छ । टीका लगाउने मानिस पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ । यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।
विजयादशमीका दिन बिहान ९ः२ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान १०ः३ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । कार्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति गरिन्छ । त्यसै रात कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।
यस्तै नेपालगञ्जस्थित रामलीला मैदानमा रामलीला मञ्चनका क्रममा आज दिउँसो रावणको पुतला दहन गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here