नेपालगञ्ज, जेठ १ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा कोहलपुर चौराहामा निर्माण गरेको खानेपानी व्यवस्थासहितको शौचालय र हात धुने स्टेशन कोहलपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
सोमवार कोहलपुरमा आयोजित एक कार्यक्रममा सो शौचालय र हात धुने स्टेशनलाई बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका मेयर आचार्यले कोहलपुर चौराहामा सार्वजनिक शौचालयको आवश्यकता लामो समयदेखि खड्किएकोमा क्लबले निर्माण गरेकोमा क्लब र कतार च्यारिटीप्रति आभार प्रकट गर्नुभयो ।
उहाँले कोहलपुर नगरपालिकाभित्र रहेका सबै सार्वजनिक शौचालयलाई जनताका लागि निशुल्क प्रयोग गर्न पाउने गरि सञ्चालन गर्ने निर्णय गरिएको जनाउँदै यस क्षेत्रकै केन्द्रविन्दु रहेको यो नगरमा शौचालयको अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।
शौचालयको सरसफाईका लागि विशेष व्यवस्था मिलाईएको पनि मेयर आचार्यले सो अवसरमा बताउनुभयो ।
उक्त अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले क्लबले कोहलपुरमा स्थानीय सरकारसंगको समन्वयमा विभिन्न कार्यक्रम गरिरहेको र आगामी दिनमा पनि गरिरहने बताउनुभयो ।
सो हस्तान्तरण कार्यक्रममा बाँके युनेस्को क्लबका सल्लाहकार सिराज खान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, आर्थिक तथा प्रशासन प्रबन्धक वेदप्रकाश पंगालीलगायतको पनि उपस्थिति रहेको थियो ।
कतार च्यारिटीको सहयोगमा क्लबले सञ्चालन गरेको बाँके जिल्लामा स्वास्थ्य तथा सरसफाई सुविधा अभिवृद्धि गर्ने परियोजना अन्तर्गत निर्माण गरिएको सो शौचालयमा २ वटा महिलाका लागि, एउटा पुरुषका लागि र एउटा अपांगता भएकाका लागि शौचालय रहेको क्लबका कार्यकारी निर्देशक साजिद सिद्दिकीले बताउनुभयो ।
सो शौचालय बाहिर ६ वटा पानीको धारासहित हात धुने स्टेशन पनि निर्माण गरिएको छ । शौचालयमा पानीको उपलब्धताका लागि माथि विद्युतीय पम्प र पानीको ट्याङ्कीसहित ह्यान्डपम्प जडान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here