२९ वैशाख, नेपालगन्ज । विश्व शान्तिका अग्रदूत भगवान बुद्धको २५६९औं महापरिनिर्वाण दिवस अर्थात बुद्ध जयन्ती आज देशभर मनाइँदै छ ।
बौद्ध धर्मका अधिष्ठाता भगवान गौतम बुद्धको जीवनमा आधारित जन्म, बुद्धत्व प्राप्ति र निर्वाण प्राप्तिको अवसरमा बुद्ध जयन्ती मनाइने गरिन्छ ।
भगवान् शाक्यमुनि बुद्धको जन्म ई.पू .५६६ मा भएको मानिएको छ । सिंहली मतका अनुसार भगवान् बुद्धको जन्म ई. पू. ५६६ भन्दा पहिले भएको देखिन आउँछ तर केन्टोनिज मतलाई मान्दा ई.पू. ५६६ मा बुद्धको जन्म भएको थिति–मिति मिल्न आउँछ ।
यिनै शाक्यमुनिको जन्म, समाधि अनि ज्ञान प्राप्तिको दिनका रूपमा आज विश्वको उत्तरीदेखि दक्षिणी ध्रुवसम्म, मृत सागरदेखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि बनारसदेखि बेइजिङसम्म आ–आफ्नै तरिकाले बुद्ध जयन्ती मनाइन्छ ।
भौतिक शरीर नाश भए पनि आफ्ना ज्ञान, वचन अनि आध्यात्मिक सीपमार्फत बुद्ध हामी सबैको चित्तमा विराजमान नै
छन् । बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मन साथ उत्तरतर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका भन्ने किंवदन्तीहरू सुनिन्छ ।
यसका अनुसार, उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तिम अवतार रहेको जानकारी र जनाऊ भएको
मानिन्छ ।
जन्मनसाथ पोखरीमा स्नान गराइएका यिनी सिद्धार्थ गौतमले नुहाएका यो पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ ।
यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतमकी आमा मायादेवीको भने उनी जन्मेको ७ दिनमै दुःखद मृत्यु भएको थियो ।
अत्यन्त अनुशासित र मर्यादित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह गरेका थिए । सम्पूर्ण जीव–जगत् र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुख सयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन् ।
त्यसपश्चात् आफू पनि भिक्षु हुने निर्णय गरेका सिद्धार्थ गौतम नै आज संसारका महान् गौतम बुद्ध हुन् । यसरी सांसारिक दुःखको कारण खोज्दै उनी २९ वर्षको उमेरमा गृह त्याग गरी बोध गया भन्ने ठाउँमा एक वृक्ष मुनि अधिष्ठानपूर्वक तपस्यामा लिन भए ।
तपस्याका क्रममा बुद्धलाई सम्यक् सम्वोधी अर्थात् महाज्ञान प्राप्त भयो । त्यस पछिका वर्षहरूमा उनले त्यही महाज्ञानलाई बाँडे । संसारभर भगवान् बुद्ध भनी कहलिए बुद्ध धर्म एक अनीश्वरवादी धर्म मात्र नभइकन एउटा अहिंसा, अधर्म अनि असत्यबाट मानवलाई जोगाउने एउटा दर्शन हो, सर्वव्यापी दर्शन ।
यो धर्म शाक्यमुनि गौतम बुद्ध र उनका अनुयायीहरूका शिक्षामा आधारित रहेर तयार भएको हो । गौतम बुद्धलाई वर्तमान कल्पको चौथौँ सम्यक् सम्बुद्ध मानिन्छ ।
विश्वमा ३५ करोड बढी मानिसले बुद्ध धर्म मान्छन् । यो विश्वको चौथौँ ठुलो धर्म हो । बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपालसहित चीन, भारत, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस्, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।
बुद्धका सबै शिक्षा र उपदेशहरूको संग्रहलाई त्रिपिटक भनिन्छ । त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरूको स–विस्तार वर्णन गरिएको छ । त्यहाँ बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञान–सूत्रहरू संगृहित छन् । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतितय–समुत्पाद हो ।
आधारभूत गुणहरू अनित्य, दुःख र अनात्मलाई बुद्धका आधारभूत सिद्धान्त मानिन्छ । गौतम बुद्धलाई हिन्दु धर्मावलम्बीहरूले भगवान् विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्दछन् । गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ । बुद्ध नेपाल भूमिमा जन्मिएको हुँदा बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here