नेपालगन्ज, असार १३ । बाँके युनेस्को क्लबले नेपाल भारत सीमा नाका लगायतमा मानवबेचविखन बिरुद्ध काम गर्दै आएको एक संस्थालाई सुदृढ बनाउनुका साथै सेवालाई प्रभावकारी बनाउन बिभिन्न सामाग्री हस्तारन्तरण गरेको छ । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा क्लबद्धारा बर्दियामा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत साथी संस्थाद्वारा सञ्चालित सूचना केन्द्रलाई विभिन्न आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो ।बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले मानवबेचविखन नियन्त्रणमा सघाउ पुग्ने गरि साथी संस्थाको सूचना केन्द्रलाई सक्षम बनाउन विभिन्न सामाग्री हस्तान्तरण गरिएको बताउनुभयो । हस्तान्तरण कार्यक्रममा सुरक्षा परियोजनाका कार्यक्रम संयोजक ईश्वर बिकले यो पहल मानव बेचबिखनबाट प्रभावित समुहहरूको सेवामा सुधार गर्न समुदायस्तरमै सेवा प्रवाह प्रणालीलाई सुदृढ बनाउने उदेश्य अन्तर्गत गरिएको जानकारी गराउनुभयो । साथी संस्थाको सूचना केन्द्रलाई हस्तान्तरण गरिएका सामाग्रीहरुमा ल्यापटप, स्टिल क्याबिनेट, काठको टेबल, घुम्ने कुर्सी, एयर कूलर, कार्पेट, पारदर्शी पर्दा, सिलिङ फ्यान, भ्याकुम क्लिनर, प्रोजेक्टर, टेबल फ्यान, इनभर्टर र ब्याट्री लगायतका सामग्रीहरू रहेको बाँके युनेस्को क्लबले जनाएको छ । यस सहयोगले सिमा नाकामा आवत जावत गर्ने लाभग्राहीहरू र त्यहाँ कार्यरत कर्मचारीहरूलाई सेवा प्रदान गर्न सहज र सरल हुने विश्वास लिइएको छ उक्त सामग्रीहरू बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक गÞुलाम गÞौस र परियोजना संयोजक ईश्वर बिकले साथी संस्थाकी कार्यकारी समिति सदस्य सरस्वती शर्मालाई औपचारिक रूपमा हस्तान्तरण गर्नु भएको थियो । सामग्रीहरु प्राप्त गरेपछि साथी संस्थाकी कार्यकारी समिति सदस्य शर्माले भन्नुभयो–‘हामीले चाहिने अत्यावश्यक सामग्रीहरू प्राप्त गरेका छौँ, जसले सूचना केन्द्र सञ्चालनमा निकै सहजता ल्याउनेछ । अब काम गर्न कर्मचारीलाई सहज पनि हुनेछ ।’ बर्दियामा सञ्चालित सुरक्षा परियोजनाले मानवबेचविखन नियन्त्रणका लागि सीमा नाकामा काम गर्नेहरुदेखि समुदायमा समेत बिभिन्न गतिविधि र कार्यक्रमहरु निरन्तर गरिरहेको छ । सोही परियोजना अन्तर्गत बर्दिया जिल्ला प्रशासनमा डिजिटल बोर्ड स्थापना गरिएको छ भने सीमा नाकामा काम गर्ने सुरक्षाकर्मी र सरोकारवालालाई विभिन्न प्रशिक्षण र अभिमुखिकरण समेत दिंदै आएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here