९ जेठ, नेपालगञ्ज । अनियमित विद्युत र लो–भोल्टेज समस्या समाधानका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले विद्युत प्राधिकरणसंग छलफल गरेको छ ।
नेपालगञ्जको विद्युत समस्या र समाधानका लागि भइरहेका प्रयासका बारेमा नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले मंगलबार नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलसंग जानकारी लिएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकामा भएको छलफलमा नगर प्रमुख विष्टले अत्यधिक गर्मी हुने सहर नेपालगञ्जमा पछिल्ला दिनमा विद्युतको नियमित आपूर्तिमा भइरहेका समस्याको कारण, उपमहानगरपालिकाले गर्न सक्ने समन्वय र विद्युत प्राधिकरणले समस्या समाधानार्थ गरिरहेको पहलका विषयमा जिज्ञासा राखेका थिए । नेपालगञ्जमा गर्मी समयमा ‘लु’ (तातो हावा) को प्रकोपले नगरबासीलाई आक्रान्त पार्ने भएकाले ‘विद्युतको नियमितता’ सबैको चासो र सरोकारका विषय भएको भन्दै नगर प्रमुख विष्टले खास समस्याका विषयमा नगरबासीलाई जानकारी दिन वितरण केन्द्र प्रमुखलाई बोलाएर छलफल गरिएको बताए ।
पत्रकारहरुको उपस्थितिका बीच आयोजित छलफलमा वितरण केन्द्र प्रमुख प्याकुरेलले अहिले देखिएका सबै समस्याहरु अस्थायी प्रकृतिका रहेको भन्दै शनिवारसम्ममा सम्पूर्ण समस्या समाधान गरिने बताए । ‘शनिवारसम्ममा नयाँ ब्रेकर र एअरपोर्ट फिडर जडान गरेर अहिले देखिएका सबै समस्या समाधान गर्ने हिसाबले लागेका छौं,’ उनले भने, ‘बत्ती गइरहने समस्यालाई समाधान गर्न हामी लागिपरेका छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here