जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको एक डोजमात्र लगाए पुग्ने खोप डेल्टा र लाम्ब्डा भेरियन्टविरूद्ध निकै कम प्रभावकारी देखिएको छमंगलबार प्रकाशित एउटा अध्ययन रिपोर्टमा यो खोप पहिलो पटक भारतमा भेटिएको डेल्टा भेरियन्टविरूद्ध ३३ प्रतिशतमात्रै प्रभावकारी पाइएको उल्लेख गरिएको छ।

उक्त अध्ययन प्रयोगशालामा संकलित रगतको नमूनाबाट गरिएको भएकाले आम मान्छेको ठूलो संख्यामा खोपको प्रभावकारिता फरक हुन सक्ने रिपोर्टमा जनाइएको छ। तर अनुसन्धानकर्ताहरूले जोन्सन एन्ड जोन्सनको खोप लगाएकाहरूले फाइजर वा मोडेर्नाको थप एक डोज खोप लगाउनु पर्न हुनसक्ने औंल्याएका छन्।

जोन्सन एन्ड जोन्सनको खोप १ करोड ३० लाखभन्दा बढी मानिसहरूले लगाएका छन्।नेपालमा पनि अमेरिकी सरकारले अनुदानमा उक्त खोपको १५ लाख डोज दिएको छ। जोन्सन एन्ड जोन्सन खोप साउन ४ देखि नेपालमा पनि लगाउन सुरू गरिएको छ। अहिले उक्त खोप ५० देखि ५४ वर्षका मानिसहरूले लगाउन पाउँछन्।

यसअघि जोन्सन एन्ड जोन्सनले सानो समूहमा अनुसन्धान गरेर प्रकाशन गरेको रिपोर्टमा आफ्नो खोप लगाएको ८ महिनापछि पनि डेल्टा भेरियन्टविरूद्ध प्रभावकारी रहेको उल्लेख गरेको थियो।

अहिलेको अध्ययन रिपोर्टको ‘पियर रिभ्यू’ नभएको र यो साइन्टिफिक जर्नलमा पनि प्रकाशन हुन बाँकी रहेको द न्युयोर्क टाइम्सले जनाएको छ। यसअघिको एउटा अध्ययनले पनि अक्सफोर्ड/ अष्ट्राजेनेका भ्याक्सिनको पहिलो डोज लगाउँदा डेल्टा भाइरसविरूद्ध त्यसको प्रभावकारिता ३३ प्रतिशत नै हुने देखाएको थियो।

‘हामी मानिसहरूले जोन्सन एन्ड जोन्सनको खोप लगाउनु हुन्न भन्ने सन्देश दिन चाहँदैनौं। अहिले यो खोप लगाउनेले भविष्यमा जोन्सन एन्ड जोन्सन वा मोडेर्ना वा फाइजरको अर्को बुस्टर डोज लगाऊन् भन्ने हाम्रो आशा हो,’ उक्त अनुसन्धानका नेतृत्वकर्ता नाथनियल लान्डाउले भनेका छन्।डेल्टा अहिलेसम्म भेटिएका कोरोनाभाइरसका प्रकारमध्ये सबैभन्दा संक्रामक भेरियन्ट हो। पछिल्लो समय अमेरिकामा पनि यसको संक्रमण बढिरहेको छ। अहिले अमेरिकामा भेटिएका संक्रमितमध्ये ८३ प्रतिशतमा डेल्टा भेरियन्ट देखिएको छ।

नेपालमा पनि कोरोनाभाइरसको दोस्रो लहर आउँदा डेल्टा भेरियन्ट देखिएको थियो।

डेल्टा भेरियन्टविरूद्ध जोन्सन एन्ड जोन्सन खोपको प्रभावकारिता कम देखिए नेपालमा पनि यो खोप लगाएका मानिसहरूले अर्को खोप लगाउनु पर्ने हुन सक्छ।

अमेरिकाले अनुदानमा दिएको अहिलेको खोप झन्डै १५ लाख नेपालीलाई पुग्छ। बुस्टर डोज लगाउनु पर्ने भए उनीहरू सबैलाई त्यसको व्यवस्था गर्नुपर्छ।

नेपालमा अमेरिकाले दिएको १५ लाख डोजबाहेक अन्य अमेरिकी खोप ल्याउने टुंगो भएको छैन।

सरकारले मोडेर्ना र फाइजर कम्पनीसँग खोप किन्ने सम्झौता गरेको भए पनि उनीहरूको खोप कहिले आउँछ भन्ने एकिन छैन। स्रोत सेतोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here