१५ फागुन, तनहुँ । बालयौन दुरुपयोग मुद्दामा हिरासतमा रहेका अभिनेता पल शाह रिहा भएका छन् ।
कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।’ परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा प्रफुल्ल देखिएका थिए ।
कारागार बाहिर उभिएका फ्यानलाई हेरेर अभिवादन गरेका उनी खुसी देखिन्थे । उनलाई बहिनी रोशनीले गाडीसम्म आइपुग्न साथ दिएकी थिइन् । पलनिकट संगीतकार योगेशकाजीका अनुसार पल सोमवार पोखरामा आराम गरेर मंगलवार मात्र काठमाडौं आइपुग्ने तयारी छ । काठमाडौंमा आउने बित्तिकै उनलाई एयरपोर्टमा स्वागत गर्ने तयारीमा उनी निकट फिल्म र संगीतकर्मी देखिएका छन् । बालयौन दुरुपयोग मुद्दामा तनहुँ जिल्ला कारागारमा २ वर्ष ६ महिनाको जेल सजाय काटिरहेका शाह उच्च अदालतले सफाइ दिएपछि रिहा भएका हुन् । उनी सोमबार बिहान साढे ११ बजे तनहुँ कारागारबाट रिहा भए । उनका निकट साथीहरुका अनुसार छिट्टै फिल्ममा फर्किने पलको चाहना छ । तर साथीहरुले केही समय आराम गरेर मात्र अभिनयमा फर्कन सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here