
नेपालगञ्ज, बाँके, असार ९,, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ भाइराजा मार्ग, फुलबारी टोलबासीले सिन्धुपलाञ्चोकमा भएको प्रकृतिक प्रकोप बाढी पहिरो पीडितलाई राहत पठाएको छ ।
विपत्तीले पारेको दु:खमा परेकाहरुको पीडामा केही मलम हामीले पनि लाउनु पर्छ भन्ने उद्देश्यले ४० घरधुरी परिवार रहेको टोलवासीहरुले मिलेर २६ हजार ७ सय ६६ रुपैया टोलमा राहत संकलन गरि नेपालगञ्जस्थित मेगा बैंक मार्फत हेलम्वु, विपत व्यवस्थापन कोषमा जम्मा गरेका छन् ।टोलवासीहरुले जम्मा गरेको उक्त रकमको बारेमा जानकारी साथै रकम बुझाएको भौचर नेपालगञ्ज उपमहानगरपालिका वडा नं।१२ का अध्यक्ष बुद्धिसागर सुवेदीलाई टोलका अध्यक्ष रोशन श्रेष्ठले हस्तान्तरण गरेका छन् । भौचर ग्रहण गर्दै स्थानिय जनप्रतिनितिको हैसियतले वडाको तर्फबाट रु १० हजार सहयोग गरिने वडाध्यक्ष सुवेदीले प्रतिवद्धता समेत जाहेर गरे ।
गत असार १ गते इन्द्रवति नदीमा आएको भीषण बाढी पहिरोले सिन्धुपलाञ्चोक जिल्लाको मेलम्ची आसपास सयौं घरपरिवारमा क्षति पुर्याएको थियो । बाढीपहिरोबाट कैयौंजना घरवार विहीन भएका थिए । सो पीडितहरुलाई केही राहत पुगोस् भनेर भाईराजा टोलवासीले सो राहत पठाएका हुन् ।
टोल समितिका उपसभापति शुशिला पौडेलले स्वागत गरेको हस्तान्तरण कार्यक्रममा टोल समितिका पदाधिकारी, जनप्रतिनिधि स्थानीयवासी तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन समितिका सचिव रविन्द्र हमालले गर्नुभएको थियो ।

Aman sent Today at 7:19 PM






