नेपालगञ्ज, असार ९ । बाँकेको खजुरा गाउँपालिकाको नवौं गाउँसभामा अध्यक्ष किस्मतकुमार कक्षपतिले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम पारित भएको छ । अध्यक्ष कक्षपतिले प्रस्तुत गरेको नीति कार्यक्रममा सभा सदस्य कान्तुराम गौतम, देउमाया थापा, भागीरथ सुनार, डिल्लीप्रसाद रेग्मी, हजुरा बमले छलफलमा भाग लिँदै सुझाव पेश गरेसंगै नीति कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।

 अध्यक्ष कक्षपतिले खजुरा समुन्नति मूल आधार उच्च सीपमुलक मानव संसाधनको विकास भएको भन्दै नागरिकको जीवनस्तरमा परिवर्तन गर्न उत्पादन सहयोगी भौतिक पूर्वाधारको विकास गर्ने, कृषि क्षेत्रको व्यवसायिककरण आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व बढाउँदै बहुआयामिक कृषि क्षेत्र विकासको नीति लिने, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित हुने गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने, समावेशी र सन्तुलित विकास प्रवद्र्धन गर्ने, आधारभूत शिक्षालाई थप सुदृढ र गुणस्तर बनाउनेमा जोड दिनुभएको छ । 


त्यसैगरी वातावरण संरक्षण र विपत व्यवस्थापनका लागि पूर्व तयारी र विपतको न्यूनीकरण गर्नुका साथै हाल भएको कोभिड १९ को रोगथाम र नियन्त्रण गर्ने, पर्यटन क्षेत्रको विकासको लागि अध्ययन गर्ने र पर्यटन प्रवद्र्धन गर्ने, चुस्तदुरुस्त सुशासनको प्रत्याभूति दिनका लागि जनप्रतिनिधि र कर्मचारीलाई नागरिकप्रति उतरदायी र जवाफदेही बनाउने, पारदर्शिता अपनाउने कुरामा विशेष जोड दिइएको छ । 


खजुराले मूल नीतिका रुपमा औद्योगिक ग्राम निर्माण र प्रदेश विश्वविद्यालय स्थापना गर्न विशेष कार्यनीति ल्याएर कार्यान्वयन गर्ने, वार्षिक, मध्यकालीन र दीर्घकालीन योजना बनाएर कार्यक्रम कार्यान्वयन गर्ने, राष्ट्रिय योजना, प्रदेश योजना, संघीय सरकार र प्रदेश सरकारको वार्षिक बजेटको लक्ष्य तथा उद्देश्य र नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यक्त गरेका प्रतिवद्धता समेतलाई मध्य नजर गरी गाउँपालिकाको योजना तथा कार्यक्रम तयार गर्ने, समावेशी र सहभागिता मूलक योजना तर्जुमा पद्धतीको अवलम्बन गर्दै प्राथमिकता प्राप्त योजना तथा क्रियाकलापहरु छनौट र कार्यान्वयन गर्ने नीति लगिएको छ ।

नागरिकलाई उद्यमशील र सीपमुलक बनाई रोजगारीको अधिकतम अवसर सृजना गरी गरिबी न्यूनीकरण गर्ने, गाउँपालिकाको सिफारिशमा उद्यम गर्ने युवालाई १० देखि १५ लाख विना धितो ऋण वितीय संस्थामार्फत उपलब्ध गराउने लगायतका महत्वपूर्ण कार्यक्रम समेटिएको छ । कृषि,  पशु पालनमा अनुदान, शिक्षामा शतप्रतिशत भर्ना, सेनिटरी प्याड, अपांगता भएका विद्यार्थीलाई छात्रवृत्ति, खेलमा वडा वडामा खेल गतिविधि, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन, अन्तर्राष्ट्रियस्तरमा सहभागी खेलाडीलाई सम्मान, स्वच्छ खानेपानीका लागि एक घर एक धारा, सांस्कृतिक र धार्मिक संरक्षण, लैंगिक समानताका लागि जेष्ठ नागरिक, महिला, वालवालिका लक्षित कार्यक्रम संचालन, बालमैत्री वडा घोषणाका लागी आवश्यक सूचक पूरा गर्ने, सडकलगायत पूर्वाधार विकास, फोरलेन मानखोलासम्म पुर्याउन पहल गरिने, विपत व्यवस्थापनमा उचित बजेट विनियोजन गरिने, सामुदायिक भवनको निर्माण लगायतका कार्यक्रम ल्याएको छ । क्षेत्रगत कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, सहकारी, सामाजिक विकास, खेलकुद, खानेपानी तथा सरसफाई, संस्कृति, लैंगिक समानता तथा समावेशीकरण, न्याय, पूर्वाधार विकास वन वातावरण तथा विपत व्यवस्थापन, सुशासन तथा संस्थागत विकास तथ्यांक तथा अभिलेखिकरण व्यवस्थापन, योजना तर्जुमा संस्थागत क्षमता विकास, राजश्व र वितीय व्यवस्थापनको लागि विभिन्न नीति र कार्यक्रम ल्याइएको छ । कार्यक्रममा उपाध्यक्ष एकमाया विकले सभामा जनप्रतिनिधिको अब एक वर्ष मात्र बाँकी रहेकाले नीति र कार्यक्रममा टेकेर कार्यान्वयनमा जोड दिन सभा सदस्यहरुको ध्यानाकर्षण गराउनुभयो ।     9  0 Google Plus0  0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here