भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणबारे छानविन गर्न गठित समितिले आइतबार आफ्नो प्रतिवेदन पेश गर्ने भएको छ ।
बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत् डाक्टर र नर्सहरूमाथि कुटपिट गरेका थिए । 
घटना छानविन गर्न भन्दै सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन भएको थियो । 
उक्त समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो । यो अवधिमा आफूहरूले सबै सरोकारवालाहरूसँग छलफल गरिसकेको र प्रतिवेदन तयारी पारिसकेको हुँदा आइतबार नै प्रतिवेदन बुझाउने तयारी रहेको समितिका एक सदस्य तथा भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रशाद श्रेष्ठले बताए । 
‘हामीले अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट, घटनाका प्रत्यक्षदर्शी, पीडित डाक्टर नर्स र आक्रमणमा संलग्न व्यक्तिहरूलाई समेत सोधपुछ गरि सकेका छौं,’ श्रेष्ठले भने, ‘प्रतिवेदन तयार छ, त्यो आजै बुझाउने भन्नु भएको छ ।’
शुक्रबार नै छानविन समितिले अस्पतालबाट सिसिटिभी फुटेज निकालेर प्रहरी प्रशासनलाई बुझाइसकेको थियो । 
डाक्टर तथा नर्समाथि आक्रमण र अस्पतालमा तोडफोड गरेको अभियोग खेपेका मानबहादुर रावत, लोकराज र भरत रावतलाई प्रहरीले सोही दिन राति नै पक्राउ गरेको थियो । 
बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पीडित डाक्टर, नर्स र अस्पताल विकास समितिको जाहेरीका आधारमा उनीहरूकाविरूद्ध शुक्रबार नै ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here