मधुवन, बर्दिया, जेठ १७ । बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेसनल नेपालको साझेदारी तथा मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा प्रारम्भिक बालविकास शिक्षकहरूका लागि ३ दिने शैक्षिक सामग्री निर्माण तालिम सम्पन्न भएको छ ।
तालिमको मुख्य उद्देश्य प्रारम्भिक बालविकास केन्द्र तथा विद्यालयहरूमा कार्यरत शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमा सहज रूपमा उपलब्ध स्रोत–साधनहरूको प्रयोग गरी कम लागतमा बालमैत्री, सिर्जनशील तथा सिकाइमैत्री शैक्षिक सामग्री निर्माण र प्रभावकारी प्रयोग गर्ने सीप विकास गर्नु रहेको थियो ।
साथै, बालबालिकाको सर्वाङ्गीण विकासलाई टेवा पुग्ने गरी स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत रोचक, सहभागितामूलक तथा गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न शिक्षकहरूलाई उत्प्रेरित गर्नु पनि तालिमको प्रमुख उद्देश्य रहेको थियो ।
तालिममा मधुवन नगरपालिकाका विभिन्न विद्यालय तथा प्रारम्भिक बालविकास केन्द्रमा कार्यरत १६ जना ईसीडी शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो । तीन दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूले बालकेन्द्रित शिक्षण विधि, उमेरअनुकूल सिकाइ क्रियाकलाप, कक्षा व्यवस्थापन, बाल मनोविज्ञान तथा स्थानीय स्रोत–साधनको प्रयोग गरी शैक्षिक सामग्री निर्माण सम्बन्धी ज्ञान र व्यवहारिक सीप हासिल गरेका थिए ।
तालिमका क्रममा शिक्षकहरूले काठ, कागज, कपडा, बीउबिजन, बोतल, डोरी लगायत स्थानीय रूपमा उपलब्ध सामग्रीहरूको प्रयोग गरी वर्णमाला, संख्या, आकार, रङ पहिचान, भाषा विकास, सामाजिक तथा भावनात्मक विकास, शारीरिक तथा बौद्धिक विकासमा सहयोग पुग्ने विविध शैक्षिक सामग्री निर्माण गरेका थिए । निर्माण गरिएका सामग्रीहरू प्रत्यक्ष रूपमा कक्षाकोठामा प्रयोग गर्न सकिने गरी तयार गरिएको थियो ।
तालिमको सहजीकरण प्रशिक्षक हसना चौधरीले गर्नुभएको थियो । उहाँले सहभागितामूलक तथा व्यवहारिक अभ्यासमार्फत शिक्षकहरूलाई बालमैत्री सिकाइ सामग्री निर्माण, प्रयोग तथा व्यवस्थापनका विविध पक्षबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो । अधिकांश सत्रहरू व्यवहारिक अभ्यासमा आधारित भएकाले सहभागीहरूले सिकाइसँगै प्रत्यक्ष अनुभवसमेत प्राप्त गरेका थिए ।
तालिमको समापन कार्यक्रम मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाल, बाँके युनेस्को क्लबका उप–कार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछाने, परियोजना संयोजक ईश्वर बिके लगायत सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सावित्रा भाटले गर्नुभएको थियो ।
समापन समारोहमा परियोजना संयोजक ईश्वर बिकेले परियोजनाको उद्देश्य तथा गतिविधिबारे जानकारी गराउँदै तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा रूपान्तरण गरी बालबालिकाको सिकाइ उपलब्धि अभिवृद्धि गर्न शिक्षकहरूलाई आग्रह गर्नुभयो ।
उहाँले गुणस्तरीय प्रारम्भिक बालविकास शिक्षाको प्रवद्र्धनमा शिक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै नवप्रवर्तनशील र बालमैत्री अभ्यासहरूको अवलम्बन आवश्यक रहेको बताउनुभयो ।
बाँके युनेस्को क्लबका उप–कार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछानेले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै बालबालिकाका लागि सिर्जनशील, सुरक्षित र सिकाइमैत्री वातावरण निर्माण गर्न शिक्षकहरूलाई प्रेरित गर्नुभयो । उहाँले प्रारम्भिक बालविकास शिक्षा नै बालबालिकाको उज्ज्वल भविष्य निर्माणको आधार भएकाले यस क्षेत्रमा लगानी र प्रतिबद्धता अझ सुदृढ हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले बालबालिकाको सर्वाङ्गीण विकासमा प्रारम्भिक बालविकास शिक्षाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै शिक्षकहरूलाई आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले मधुवन नगरपालिकाले ईसीडी शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक सहयोग, समन्वय तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समापन समारोहका अध्यक्ष तथा मधुवन नगरपालिकाका प्रमुख तेज बहादुर भाटले बाँके युनेस्को क्लब र प्लान नेपालद्वारा सञ्चालन गरिएको यस पहलको प्रशंसा गर्दै प्रारम्भिक बालविकास क्षेत्रमा गरिएको लगानी नै भविष्यमा सक्षम, सिर्जनशील र जिम्मेवार नागरिक निर्माणको आधार हुने बताउनुभयो । उहाँले स्थानीय स्रोत–साधनको अधिकतम प्रयोगमार्फत बालमैत्री तथा नवप्रवर्तनशील सिकाइ वातावरण निर्माण गर्न शिक्षकहरूलाई आग्रह गर्दै नगरपालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सहभागी शिक्षकहरूले तालिम अत्यन्त उपयोगी, व्यवहारिक तथा प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए । उनीहरूले स्थानीय सामग्री प्रयोग गरी शैक्षिक सामग्री निर्माण गर्ने सीप, दक्षता र आत्मविश्वासमा उल्लेखनीय वृद्धि भएको उल्लेख गर्दै आगामी दिनमा प्राप्त ज्ञान र सीपलाई विद्यालय तथा ईसीडी केन्द्रहरूमा प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए । साथै, यस्ता क्षमता विकासमूलक कार्यक्रम सञ्चालन गरेकोमा आयोजक संस्था, प्रशिक्षक तथा सहयोगी निकायहरूप्रति आभार व्यक्त गरेका थिए ।
तीन दिनसम्म सञ्चालन भएको उक्त तालिम गुणस्तरीय, समावेशी, बालमैत्री तथा दिगो प्रारम्भिक बालविकास शिक्षाको प्रवद्र्धन गर्ने साझा प्रतिबद्धतासहित सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।







