१५ जेठ, नेपालगन्ज । गणतन्त्र दिवस–२०८३ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
२०६२।०६३ को १९ दिने जनआन्दोलनले दुई सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरेपछि १५ जेठ २०६५ मा जननिर्वाचित संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था शुभारम्भ भएको घोषणा गरेको थियो ।
देशको शासन व्यवस्था नै परिवर्तन भइ गणतन्त्रात्मक व्यवस्था शुरु भएको दिनको रुपमा प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउने गरिन्छ । १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो । यही ऐतिहासिक दिनको सम्मान स्वरूप हरेक वर्षको जेठ १५ गते नेपालले आफ्नो गणतन्त्र दिवस मनाउने गरेको छ ।
आजको दिन एउटा गर्व अनि उत्साहको दिवस हो तसर्थ आज नेपाली सेनाले बिहानै बिगुल फुकेर जनाउ दिने गर्दछ । टुँडिखेल काठमाडौँ लगायत देशैभरका थुप्रै ठाँउहरुमा आज भेला, कार्यक्रम अनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
साँझमा गणतन्त्रका अथक योद्धा सहिदहरूको सम्झनास्वरुप मैनबत्ती बाल्ने कार्यक्रम पनि गरिन्छ । गणतन्त्र दिवसका अवसरमा आज ७ वटै प्रदेशमा प्रभात फेरि, खेलकुद, प्रवचन, गोष्ठी एवं सांस्कृतिक कार्यक्रम समेत हुँदै छ । त्यसै गरी विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा विभिन्न कार्यक्रम गरिनेछ भने साँझमा दीपावलीको उल्लासमय कार्यक्रमहरू समेत राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here