२९ कार्तिक, नेपालगन्ज । सूर्य उपासना, निष्ठा र लोकसंस्कृतिको महान पर्व छठ आज श्रद्धा, भक्ति र हर्षोल्लासका साथ मनाइँदैछ ।
विशेषगरी तराई–मधेश क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व सूर्यदेव र छठी माताको उपासना गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो ।
चार दिनसम्म मनाइने यस पर्वको मुख्य दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्ने परम्परा रहेको छ । नदी, ताल, पोखरी तथा जलाशयका किनारमा बनाइएका छठ घाटहरूमा व्रतालु तथा श्रद्धालुहरूको भीड लाग्ने गर्दछ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व शुक्रबारदेखि शुरु भएको हो । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन सखर हालेर बनाइएको खीर खरना षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन आज निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइने भएको छ ।
षष्ठी अर्थात आजको दिन रातभर जागा बसी भोलि कात्तिक शुक्ल सप्तमीको बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।
छठ पर्वमा व्रतालुहरूले अत्यन्त निष्ठा र पवित्रताका साथ व्रत बस्ने, शुद्ध शाकाहारी भोजन गर्ने, पूजाका सामग्री तयार पार्ने तथा सूर्यदेवको आराधना गर्ने गर्दछन् । बाँसको ढाकी, सुप, नरिवल, केरा, उखु, अदुवा, बेसार, ठेकुवा, भुसुवा लगायतका प्रसाद छठ पूजाका विशेष सामग्री मानिन्छन् ।
नेपालगन्ज, जनकपुर, वीरगन्ज, विराटनगर, राजविराजलगायत तराईका विभिन्न सहर तथा ग्रामीण क्षेत्रमा छठ पर्वका लागि घाटहरू सजाइएका छन् । पोखरी, नदी तथा जलाशयका किनारमा सरसफाइ गरी पूजाका लागि आवश्यक व्यवस्था मिलाइएको छ । छठका परम्परागत गीत तथा भजनले पर्वको धार्मिक वातावरणलाई थप उल्लासमय बनाएको छ ।
छठ पर्वको अर्को महत्वपूर्ण पक्ष भनेको अस्ताउँदो सूर्यलाई समेत उत्तिकै श्रद्धाका साथ अघ्र्य अर्पण गर्नु हो । यसले प्रकृति, समय र जीवनप्रति कृतज्ञता व्यक्त गर्ने सन्देश दिएको धार्मिक विश्वास छ ।
आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइनेछ । त्यसपछि व्रतालुहरूले विधिपूर्वक व्रत समापन अर्थात् पारण गर्नेछन् । यससँगै चारदिने छठ पर्व सम्पन्न हुनेछ ।
विसं २०४६ देखि सरकारले छठ पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । विगतका केही वर्ष यो बिदा काटिएकामा फेरि बिदा हुन थालेको छ । यसवर्ष सरकारले भोलि पनि सार्वजनिक बिदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here