८ चैत्र, नेपालगन्ज । बर्दियाको ठाकुरद्वारामा युवा एम्बेसडर तालिम सम्पन्न भएको छ । बाँके यूनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो ।
तालिममा समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता बोकेका ३३ जना उत्साही युवायुवतीहरूको सहभागिता रहेको बाके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताए ।
उनका अनुसार तालिमको उद्देश्य मानव बेचबिखन, बालअधिकार, बालसुरक्षा तथा केस व्यवस्थापन जस्ता महत्वपूर्ण विषयहरूमा ज्ञान अभिवृद्धि गर्नुका साथै व्यवहारिक सीप विकास गर्नु रहेको थियो । तालिममा अन्तरक्रियात्मक तथा सहभागितामूलक सत्रहरू मार्फत सहभागीहरूले मानव बेचबिखनका चुनौतीहरू, सामाजिक सञ्जालको दुरुपयोग, वैदेशिक रोजगारीसँग सम्बन्धित जोखिम तथा समुदायस्तरमा समन्वयात्मक प्रयासको महत्वबारे छलफल गरेका थिए ।
उक्त तालिममा स्थानीय सरकार, एलसीसीएचटी तथा सेवा प्रदायक निकायहरूको भूमिका र जिम्मेवारीबारे पनि विशेष रूपमा जानकारी गराइएको थियो । तालिमको सहजीकरण निर्मल सुवेदी र बाँके यूनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकेले गरेका थिए भने फिल्ड सुपरभाइजर प्रमिशा थारु र सवित्रा भाटले सहयोग गरेकी थिइन् ।
तालिमको एक प्रेरणादायी सत्रमा युवा एम्बेसडर तथा सामाजिक अभियन्ता स्वेता गुरुङ र सपना परियारले आफ्ना अनुभवहरू साझा गरेकी थिइन् । उनीहरूको अनुभवले युवाहरूको नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वबारे सहभागीहरूलाई थप प्रेरित गरेको जनाईएको छ ।
तालिमले सहभागीहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्नुका साथै सुरक्षित वैदेशिक रोजगार, बालअधिकार संरक्षण तथा मानव बेचबिखन नियन्त्रणमा युवाहरूलाई सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरेको सहभागिहरुले जनाएका छन् ।
तालिमको समापन कार्यक्रममा बाँके यूनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी तथा वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङले सुरक्षित र सशक्त समाज निर्माणमा युवाहरूको भूमिका महत्वपूर्ण हुने बताए ।
क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरले यस्ता तालिमले मानव बेचबिखन, बालअधिकार, बालसुरक्षा जस्ता विषयमा युवामा चेतना बढाउनुका साथै सकारात्मक काम गर्न प्रेरित गर्ने गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here