३ फागुन, नेपालगन्ज । हिन्दुहरुको महान पर्व महाशिवरात्री भगवान शिवको पूजाआराधना गरि आज भक्तिभावपूर्वक मनाइँदैछ ।
महाशिवरात्री अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिव र माता पार्वतीसँग सम्बन्धित प्रमुख पर्व हो ।
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरू मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवाय मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।
ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अंग मानिन्छन् ।
शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ ।
शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरणकालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशानमूर्तिलाई दूधले स्नान गराइन्छ ।







