३० मंसिर, नेपालगञ्ज । किराँत समुदायले मनाउने उधौली पर्व आज धूमधामका साथ मनाइँदै छ ।
किराँतहरूको धार्मिक पुस्तक ’मुन्धुम’मा एउटा समग्र वर्षलाई चराहरूको बसाइसराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ, उँगौली र उधौंली । किराँतहरूको महान् चाड साकेलाको पनि दुई वटा पर्वमय पक्षहरू छन्, उँगौली र उधौंली ।
उँगो भन्नाले ठेट नेपाली शब्दमा माथि भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ ।
ठेट नेपाली गीत अनि शब्दावलीहरूमा उँगो र उँधो शब्दको पर्याप्त प्रयोग भएको पाइन्छ । तल माथि या प्रगति अनि दुर्गति लगायत सुरु या अन्त्य जनाउन उँगो र उँधो शब्दको प्रयोग भएको पाइन्छ ।
हरेक वर्षको मसिंर पूर्णिमाका दिन उधौंली पर्व पर्दछ, किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद सुरु भयो, हिउँदको सुरु भए लगत्तै लेक वाट बस्तुभाउ अनि चराचुरुङ्गी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको सङ्केतका रूपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाइन्छ ।
पर्वत शृंखलाहरूको लेकतिर बसोबास गर्ने किराँतहरू जाडोको याममा बेसी अथवा तलतिर झर्ने र क्रमशः न्यानो बढेसँगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचक हो । परम्परागत भेसभुसा लगाएर आज किराँत दाजुभाइ तथा दिति–बहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परिक ’साकेला’ नृत्य प्रस्तुत गर्ने चलन छ । ’हुर्रे हा हा , सोई ढोले सोई एएए अर्को ढोले खै ?’ भन्दै यस दिन पारम्परिक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ । साथमा परम्परागत बाजागाजाहरू एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाइन्छ ।
उँधौली पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश दिँदै यस दिनले नेपालका सबै धर्मावलम्बी, जातजाति, भाषा भाषी जो जहाँ रहेको भए पनि एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशमा शान्ति र सुव्यवस्था स्थापना गर्नका लागि प्रेरित गर्ने आशा व्यक्त गर्ने चलन छ ।
उधौली पर्वको अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here