२१ पौष, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेले अनुसन्धान कार्यमा रचनात्मक सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक पातलीद्वारा सोमवार जारी गरिएको प्रेस विज्ञप्ति मार्फत उक्त अनुरोध गरिएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८२ पौष १७ गते बिहान करिब २ः०० बजेको समयमा जिल्ला बाँके डुडुवा गाउँपालिका वडा नं. ४ मा सद्दाम खाँलाई केही व्यक्तिहरूको समुहले मरणासन्न हुने गरी कुटपिट गरेका छन् भनि यस कार्यालयलाई जानकारी प्राप्त हुन आई प्रहरी टोली सम्बन्धित घटनास्थलमा पुगी घाईतेको उद्धार र उपचारका लागि नेपालगन्ज न्यूरो हस्पिटल प्रा.लि. लगिएको । उक्त स्थानमा घाईतेको प्राथमिक उपचार पश्चात थप उपचारका लागि भारतको लखनऊमा लगिएको र घाईतेको पारिवारिक स्रोतबाट प्राप्त जानकारी अनुसार निजको स्वास्थ्य अवस्था हाल सम्म गम्भिर रहेको ।
उल्लेखित घटनासँगै जोडिएर एक जना नाबालिका बलात्कृत भएको बिषयमा समेत यस कार्यालयलाई जानकारी प्राप्त हुनासाथ प्रहरीले विस्तृत स्वास्थ्य परिक्षण लगायतको अनुसन्धान कार्य सुरु गरेको ।
उपर्युक्त दुवै घटना गम्भिर प्रकृतिका फौजदारी कसूर भएको हुँदा प्रहरी एकदमै सजग र संवेदनशील भई घटनाहरुको अनुसन्धान एवं घटनामा संलग्न कसूरदारहरुको पहिचान र खोजि कार्यमा रहेको छ ।
उल्लेखित घटनाहरुका सम्बन्धमा विभिन्न सामाजिक संजाल तथा संचार माध्यमहरु मार्फत विशुद्ध आपराधिक घटनाहरुलाई राजनीतिक, धार्मिक लगायत साम्प्रदायिक भावनासँग जोडी निष्पक्ष अनुसन्धान कार्यलाई अनुचित रुपमा प्रभावित गर्ने र घटनालाई अतिरञ्जित गर्ने कार्यले सामाजिक सद्भावमा समेत खलल पुग्न सक्ने सम्भावना प्रति कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ ।
अतः दुवै घटना फौजदारी कसूर भएको हुँदा यस कार्यालयबाट निष्पक्ष र वस्तुगत तथ्य प्रमाणका आधारमा दोषीलाई कानूनी दायरामा ल्याई पीडितलाई पूर्ण न्याय सम्पादन गर्ने कार्यमा प्रहरी प्रतिबद्ध रहेको साथै प्रहरीलाई अनुसन्धान कार्यमा सहयोग पुग्ने सूचनाहरु उपलब्ध गराई प्रहरी कारवाहीमा रचनात्मक सहयोग गर्नुहुन समेत सम्बन्धित सम्पूर्णमा अनुरोध गर्दछौं ।
साथै यस घटनाको अनुसन्धान कार्यलाई प्रभावित गर्ने मनसाय राखी अनर्गल प्रचारप्रसार गरी पीडितलाई झन् पीडित बनाउने, आफै अनुसन्धान गर्ने आफै दोषी करार गर्ने, विभिन्न व्यक्ति तथा समुदाय लक्षित दुष्प्रचार गरी व्यक्तिको चरित्र हत्या गर्ने, सामाजिक सद्भाव खलबलाउने जस्ता कार्यहरू जो कोहीबाट भए गरेको पाइएमा त्यस्ता व्यक्ति समूह तथा सञ्चारमाध्यमहरूलाई समेत जिम्मेवार बनाई प्रचलित कानुन बमोजिम कारवाही भइजाने व्यहोरा जानकारी गराइन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here