९ भाद्र, नेपालगन्ज । नेपाली हिन्दु महिलाहरुको महत्वपूर्ण चाड हरितालिका तीज आजबाट सुरु भएको छ । तीज अन्तर्गत आज दर खाने दिन ।
भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन तीज मनाउने गरिन्छ । मीठा परिकारका साथ दर खाने गरिन्छ । हरितालिका तीजको ब्रतअघि मीठा–मीठा परिकार बनाएर दर खाने प्रचलन रहीआएको छ । दरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका परिकार खाने गरिन्छ ।
दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन चलेको हो । दरखाने समय र स्थान भने ठाउँअनुसार फरक–फरक छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।
धार्मिक मान्यताअनुसार सत्ययुगमा पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासका आधारमा युवतीले राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन छ ।
तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगानसहित मनोरञ्जन गर्ने गरिन्छ । भारतका कुनै–कुनै प्रान्तमा समेत तीज मनाउने प्रचलन छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ दरखान जाने चलन रहि आएको छ ।








