२४ श्रावण, नेपालगन्ज । हिन्दु धर्मावलम्बीहरुको महान पर्व जनै पूर्णिमा ‘रक्षा बन्धन’ आज देशभर मनाइँदै छ ।
‘सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा सुत्र तैयार गरी बलशाली दानवराज बलिलाई बाँधे, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षा बन्धनको परम्परा अहिले सम्म पनि प्रचलित छ ।
यस्तै तराई मधेशका दिदीबहिनीले दाजुभाइलाई राखी बा“धेर रक्षाबन्धन पर्व मनाउँछन् । दिदी–बहिनीले आफ्ना दाजु–भाईलाई नाडीमा राखी बाँधेर दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्दछन् भने दाजु–भाईले दिदी–बहिनीको आजीवन सुरक्षा गर्ने वचन दिने गरेका छन् ।
ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात जनै लगाउने चलन रही आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु–पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।
यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुई वटा शिखा छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
रक्षा बन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाईलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरी दिने चलन पनि छ ।
हिन्दु परम्परा अनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रही आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here