३० असार, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२।८३ को बजेट पारित भएको छ ।
नगरसभाको १७औं अधिवेशनको दोस्रो बैठकबाट बजेट सर्वसम्मत पारित भएको हो । सभा अध्यक्ष एवम् नगर प्रमुख प्रशान्त विष्टले बैठकमा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८२।८३ को बार्षिक राजश्व र ब्ययको अनुमान स्विकृतिका लागि पेश गर्नुभएको थियो ।
त्यसअघि नगरसभाको १७औं अधिवेशनको दोस्रो बैठकबाटै नीति तथा कार्यक्रम पनि पारित भएको छ । नेपालगन्ज–१४ भवानियापुरस्थित नेपालगन्ज सिटी हलमा आइतबार बसेको बैठकमा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, मर्मत–सम्भार विधेयक २०८१, प्रज्ञा प्रतिष्ठान विधेयक २०८२ स्विकृतिका लागि पेश गरिएकोमा सर्वसम्मत पारित भएको सभा सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिए ।
नगरसभाको दोस्रो बैठकले नगर कार्यपालिकाका निर्णयहरु समेत अनुमोदन गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८०–८१ को म.ले.प. प्रतिवेदन पनि छलफलका लागि पेश गरिएको थियो । बैठकमा सभा सदस्यहरुले विभिन्न विषयमा आ–आफ्नो धारणा राखेका थिए । त्यसक्रममा नगरसभा सदस्यहरु प्रमोद रिजाल, राजकुमार साहु, दीपक कुमार बर्मा, गोपाल पुन, कैशल कुमार धोबी, मनोज कुमार श्रेष्ठ, सराफत हुसेन शेख, संगिता रेग्मी, बसन्त कनोजिया, रुमिता श्रेष्ठ, दिग्विजय ढुंगाना, भरत शाही लगायतले बोलेका थिए । पूर्वाधार विकास समिति संयोजक समेत रहेका नगरसभा सदस्य कनोजियाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले गत असार १० गते बसेको नगरसभाको १७औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८२।८३ को लागि बजेट पेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here