मोहम्मद आरिफ अन्सारी
नेपालगञ्ज, असार २८ बाँके, नेपालगञ्ज । नेपालगञ्जको सक्रिय साहित्यिक संस्था ‘गुलजार–ए–अदब’ मा नेतृत्व परिवर्तन भएको छ । संस्थाका संस्थापक तथा हालसम्म अध्यक्ष रहेका वरिष्ठ शायर अब्दुल लतीफ “शौक“ ले स्वास्थ्य कमजोरीका कारणले गर्दा एक कार्यक्रमका बीच आजैदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिनुभएको हो । उहाँले आजै नयाँ कार्यसमिति पुनर्गठनको घोषणा गर्दै मुस्तफा अहसन कुरैशी “अहसन“ लाई अध्यक्ष, नुरुल हसन राई “नुरी“ लाई उपाध्यक्ष तथा मोहम्मद आरिफ अन्सारी “अमन“ लाई महासचिवको जिम्मेवारी सुम्पनुभएको छ । संस्थाका वर्तमान सचिव समेत रहनुभएका अहसन कुरैशीका अनुसार, संस्थापक अध्यक्षले नयाँ समितिलाई आवश्यक परामर्श लिएर पूर्णता दिने अधिकार पनि प्रदान गर्नुभएको छ । नवनियुक्त अध्यक्ष मुस्तफा अहसन कुरैशीले शायरहरू तथा साहित्य प्रेमीहरूसँग छलफल गरी चाँडै नै समितिलाई पूर्णता दिने जानकारी दिनुभयो । ‘गुलजार–ए–अदब’ विगत ५ दशकदेखि नेपाली साहित्यिक वातावरणमा उर्दू गजल, कविता तथा बहुभाषिक साहित्यिक गतिविधिमार्फत सक्रिय रहँदै आएको संस्था हो ।








