२२ असार, नेपालगन्ज । कर्बलाका शहीदहरुको सम्झनामा मनाइने इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रम आइतवार ताजिया विसर्जनसँगै समापन भएको छ ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद स.का नाती हजरत इमाम हुसैन सहित उहाँका परिवार सदस्य आफन्त र उहाँका साथी लगायतकाहरुले शताब्दीयौँ अघि ईराकको कर्बलामा शहादत प्राप्त गरेको स्मरणमा मोहर्रम पर्व लगातार दस दिनसम्म मनाइने गरिन्छ । गत शुक्रवारदेखि शुरु भएको मोहर्रम पर्व अन्तर्गत नगर तथा गाउँपालिकाहरुमा जुलुस प्रदर्शन त्यस्तै बाजागाजा सहित जुलुस नगर परिक्रमा गराउने, मेहँदी जुलुस प्रदर्शन, आलम र मातम जुलुस, आगोको मातम र शनिवार राती भाकल राखी पायक भर्ने, ताजियादारी र विभिन्न किसिमको झाँकी प्रदर्शन गरी राती जाग्राम बसी विभिन्न धार्मिक अनुष्ठानपछि आइतवार ताजिया फुल्टेक्राको कर्बला मैदानमा विसर्जनपछि मोहर्रम पर्व सम्पन्न भएको हो । मोहर्रम पर्वमा मुस्लिम समुदायका सुन्नी समुदाय नयाँ वर्षको अवसरमा खुशियालीका साथ मनाउने गर्छन् भने मुस्लिम समुदायका शियाहरु यसलाई दुःखको रुपमा मनाउने गरेका छन् ।
शताब्दीयौं अघि ईराकमा यजीद शासकको सेनाले हजरत इमाम हुसैन सहित उहाँको परिवार सदस्य, आफन्त र अन्य कैयन साथीहरुको नृशंसतापूर्वक नरसंहार गरेका थिए ।
विश्व भरी नै विभिन्न तरिकाले मनाइने गरिएको यो मोहर्रम पर्व नेपालगन्जमा पनि शताब्दीयौंदेखि मनाइँदै आएको छ ।
अली स्पोर्ट्स क्लबका खेलाडीहरुद्वारा आइतवार मोहर्रम पर्वको समापनको अवसरमा लठ्ठी कला प्रदर्शन भएको अली स्पोर्ट्स क्लबका अध्यक्ष समिर अलीले बताएका छन् । क्लबका खेलाडीहरुले मोहर्रम पर्वको सातौं दिनदेखि लठ्ठी कला तथा आगोको कला प्रदर्शन गर्दै आएका थिए ।
पर्वको अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक अगुवा लगायतले अहम भूमिका निर्वाह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here