१३ असार, नेपालगन्ज । इस्लामिक नयाँ वर्ष १४४७ शुक्रवारदेखि प्रारम्भ भएको छ ।
इस्लामिक नया“ वर्ष १४४७ लाई सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुले शुक्रवार स्वागत गरेका छन् ।
इस्लामी पात्रोलाई अरबी भाषामा हिजरी पात्रो पनि भनिन्छ । यो एक चन्द्र पात्रो हो । यो मात्र मुस्लिम देशहरुमा प्रयोग हुन्छ तर यसलाई पूरा विश्वका मुस्लिमहरु इस्लामिक धार्मिक पर्वहरुलाई मनाउन र सही समय जान्नका लागि प्रयोग गर्दछन् ।
यो चन्द–पात्रो हो, जसमा वर्षमा बाह्र महिनाहरु हुन्छन् । इस्लामिक नयाँ वर्षको खुशियालीमा नेपालमा पनि विगत केही वर्षदेखि विशेष कार्यक्रम आयोजना हुने गरेको छ ।
धार्मिक र सामाजिक कार्यक्रम गरी नयाँ वर्ष स्वागत गरिँदै आइएको छ ।
यसबीच कर्बलाका शहीदहरुको सम्झनामा मनाइने इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रम पनि शुक्रवारदेखि शुरु भएको छ ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदका नाती हजरत इमाम हुसैन सहित उहाँका परिवार सदस्य आफन्त र उहाँका साथी लगायतकाहरुले शताब्दीयांै अघि ईराकको कर्बलामा शहादत प्राप्त गरेको स्मरणमा मोहर्रम पर्व मनाइ“दै आइएकोछ ।
यो पर्व लगातार दस दिनसम्म मनाइने गरिन्छ ।
मोहर्रम पर्व भव्यतापूर्वक सम्पन्न गराउन नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिले नगर तथा गाविसहरुमा जुलुस प्रदर्शन गर्न ताजियादारी गर्ने त्यस्तै मोहर्रम पर्वमा बाजागाजा सहित जुलुस नगर परिक्रमा गराउने, मेहँदी जुलुस प्रदर्शन, आलम र मातम जुलुस, आगोको मातम गर्ने र भाकल राखी पायक भर्ने, ताजियादारी र विभिन्न किसिमको झाँकी गरी राती जाग्राम बस्ने र सो ताजिया फुल्टेक्राको कर्बला मैदानमा विसर्जन गर्ने कार्यक्रम गर्ने भएको छ ।
मोहर्रम पर्वमा मुस्लिम समुदायका सुन्नी समुदाय नयाँ वर्षको अवसरमा खुशियालीका साथ मनाउने गर्छन् भने मुस्लिम समुदायका शियाहरु यसलाई दुःखको रुपमा मनाउँदै आएका छन् ।
शताब्दीयौं अघि ईराकमा यजीद शासकको सेनाले हजरत इमाम हुसैन सहित उहाँको परिवार सदस्य, आफन्त र अन्य कैयन साथीहरुको नृशंसतापूर्वक नरसंहार गरेका थिए ।
विश्व भरी नै विभिन्न तरिकाले मनाइने गरिएको यो मोहर्रम पर्व नेपालगन्जमा पनि शताब्दीयौंदेखि मनाइँदै आएको छ ।







