२३ चैत्र, नेपालगञ्ज । बाँके युनेस्को क्लबले नेपालगञ्जका १३० जना मुस्लिम समुदायका अनाथ बालबालिकालाई ईद पर्व खुशी भएर मनाउनका लागि उनिहरुलाई कपडा, जुत्ता लगायतका सामान खरिद गराएको छ ।
क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ‘सामाजिक संरक्षण परियोजना’ अन्तर्गत अनाथ बालबालिकाले पनि अन्य बालबालिकाजस्तै नजिकको मार्केटमा गएर ईदका लागि कपडा जुत्ता लगायतका सामान खरिद गर्न पाउन भन्ने उद्देश्यका साथ सो खरिदारी गराएको क्लबका अध्यक्ष रवि तुलाधरले बताए ।
उनले मुस्लिम समुदायको महान पर्व ईदलाई उत्साहका साथ मनाउनका लागि ७७ जना बालक र ५३ जना बालिका गरी १३० जना अनाथ बालबालिकालाई प्रत्येक बालबालिकालाई चार हजार चारसय रुपियाँ बराबरको कपडा लगायत खरिद गराएको बताए ।
क्बलका अनुसार बालबालिकालाई अभिभावकसहित स्कुल बसमा राखेर नेपालगञ्जको सबैभन्दा ठुलो सुपर मार्केट भाटभटेनीमा लगिएको थियो र उनीहरुले त्यहाँ घुमफिर गरी रमाउँदै नगद भाउचरमार्फत आफ्नो इच्छाअनुसार कपडा र जुत्ता खरिद गरेका थिए ।
ईद उपहार पाएपछि बालबालिकाहरु निकै उत्साहित र हर्षित देखिएका थिए भने उनीहरुको अनुहारमा खुशीको किरण प्रष्ट देखिन्थ्यो । ईद–उल–फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो पर्व हो जुन एक महिनाको पवित्र रमजान पछि मनाइन्छ ।
विशेष गरी बालबालिकाहरू यस पर्वको आगमनको उत्सुकताका साथ पर्खाइमा रहेका हुन्छन् किनभने उनीहरूले यस अवसरमा नयाँ लुगा र जुत्ताहरू पाउने गर्दछन् ।
ईदका लागि खरिदारी गर्न भाटभटेनी प्रस्थान गर्नुअघि कतार च्यारिटीका सामाजिक सुरक्षा अधिकृत जाहिद खान र सहायक सामाजिक सुरक्षा अधिकृत गुड्डी परवीनले बालबालिका र अभिभावकहरूलाई बाल दुव्र्यवहार र शोषणबाट आफूलाई बचाउन सचेत गराउन गुड टच र नराम्रो स्पर्शका बारेमा जानकारी गराएका थिए ।
साथै अनाथ बालबालिकाका आमाहरुलाई आफ्ना छोराछोरीलाई शिक्षा र उचित हेरचाहमा ध्यान दिन तथा २० वर्ष मुनिका छोरीको विवाह नगर्न प्रोत्साहन गर्ने जानकारी उनीहरुले गराए ।
ईद उपहार वितरण कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, प्रमुख संरक्षक परवेज अली सिद्दिकी, कार्यकारी निर्देशक साजिद अली सिद्दिकीको सहभागिता रहेको थियो ।
कार्यक्रममा परियोजना संयोजक बिनिता आरसी, सामाजिक सुरक्षा अधिकृत गुलाम गौस, वाश अधिकृत नदीम शाह, सामाजिक परिचालनकर्ता अर्पित सिंह, विशेष गुप्ता, लिक बहादुर चौधरी र सम्यारा सिंह थारुको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here