१५ चैत्र, नेपालगञ्ज । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि शुरु भएको छ ।
एसइई परीक्षा–२०८० साल आज चैत्र १५ गतेदेखि चैत्र २७ गते सम्म सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा बिहान ८ बजे देखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन हुने जनाएको छ ।
परीक्षामा सहभागी हुन ४ लाख ८९ हजार विद्यार्थीले आवेदन दिएका छन् ।
तालिका अनुसार आज चैत्र १५ गते अनिवार्य अंग्रेजीको परीक्षा हुँदैछ । आजै वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ ।
अनुत्तीर्ण परीक्षार्थी र अक्षरांकन पद्धतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत यस पटक एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था छ ।
यसका साथै परीक्षा अनुगमन टोलीलाई परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगत रूपमै कारबाही गर्न सक्ने अधिकार दिइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको जनाएको छ ।
बाँकेमा भने यो वर्ष ९ हजार २ सय ९३ जना परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदैछन् ।
शिक्षा समन्वय इकाई कार्यालयका अनुसार एसईईमा ४ हजार ७ सय ६३ छात्र र ४ हजार ५ सय ३० जना छात्रा सहभागी हुँदैछन् । बाँकेमा ३४ वटा परीक्षा केन्द्र तोकिएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकामा ९ वटा, कोहलपुर नगरपालिकामा १०, बैजनाथ, राप्तीसोनारी र खजुरा गाउँपालिकामा ४÷४, डुडुवा, नरैनापुर र जानकी गाउँपालिकामा १÷१ वटा केन्द्र रहेको शिक्षा समन्वय इकाई बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here