६ चैत्र, नेपालगन्ज । बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्ष सुरु भएको छ । चैत ६ देखि ९ गते सम्म संचालन हुने एन्फा कम्युनिटी कोचिङ कोर्षमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, डोटी, कालिकोट, काठमाडौं लगायतका जिल्लाबाट ४३ जनाको सहभागिता रहेको छ ।
नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्ट, बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिप जंग शाहले एन्फा कम्युनिटी कोचिङ कोर्षको सुभारम्भ गरे ।
आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एन्फा कार्यवाहक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरी खड्का, एन्फा हेड अफ कोच एजुकेशन संजित सिंह, एन्फाका पुर्व उपाध्यक्ष एवम् बाँके जिल्ला फुटबल संघका सदस्य गोवर्धन सिंह सम्झना, साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द, बाँके जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, पुर्व राष्ट्रिय खेलाडी दिप बहादुर महतारा, निजामुद्दिन सिद्दिकी(मुन्ना) लगायतको उपस्थिति रहेको थियो ।
चार दिन सम्म चल्ने एन्फा कम्युनिटी कोचिङ कोर्षमा सहभागि भएकाहरुलाई एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरी खड्का र एन्फा हेड अफ कोच एजुकेशन संजित सिंहले प्रशिक्षण दिनेछन् ।
कोर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले खेलाडीलाई संरक्षण र सम्मान गर्ने वातावरण निर्माण गरिनु पर्ने बताए ।
नेपालगन्ज उप–महानगरपालिकाले छिटै खेलकुद विकास समिति निर्माण गरेर अगाडी बढ्ने मेयर विष्टले बताए ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा सदस्य भोजराज शाहीले मैदान अभावका कारण फुटबलका गतिविधिमा असर गरिरहेको छ । नेपालगन्जमा सुरु भएको एन्फा कम्युनिटी कोचिङ कोर्षले सामुदायिक स्तरबाट फुटबल खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । उनले भने, ‘खेलाडीहरुमा नयाँ उत्साह र आकर्षित गर्न जरुरी छ । तालिम लिने प्रशिक्षकहरुको लागि यो ठुलो जिम्मेवारी निर्वाह गर्ने अवसर मिलेको छ । यो राम्रो अवसर पनि हो । सबै खेलाडी कोच बन्न सक्दैन । हामीले पुर्व कप्तान हरी खड्का र संजित सिंह जस्तो दक्ष प्रशिक्षक पाएका छौं । यो गर्वको कुरा हो । यसलाई प्रशिक्षकले सदुपयोग गर्न सक्नु पर्छ ।’
बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिप जंग शाहले नेपालमा खेलाडीहरुलाई संरक्षण गर्न नसक्नु ठुलो समस्या बन्दै गएको बताए । उनले भने, ‘पालिका स्तर सम्म खेलकुदका गतिविधिहरु बढेपछि यसले खेलकुदमा भ्रष्टाचार निम्त्याईरहेको छ । यो कुरा हामीले भन्नै पर्छ । जिल्ला खेलकुदले राष्ट्रपति रनिङ शिल्डको छनोट गर्दा ६ देखि ७ लाखमा सम्पन्न गरेको छ । तर पालिकाहरुले १३ लाख भन्दा बढी खर्च गर्छन् । यो राज्यले खेलाडीलाई संरक्षण गर्न भनेर छुटयाएको रकम हो । यसको दुरुपयोग गर्नु भएन ।’
अध्यक्ष शाहले एन्फा बाँकेले गरेको कार्यक्रमबाट आफु निकै उत्साही भएको भन्दै कोर्षको सफलताको शुभकामना दिए ।
कार्यक्रममा एन्फाका पुर्व उपाध्यक्ष एवम बाँके जिल्ला फुटबल संघका सदस्य गोवर्धन सिंह सम्झना, संजित सिंह, साविक मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द लगायतले कोर्षको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
एन्फाले ५ वर्ष अघि देखि एन्फा कम्युनिटी कोर्षको सुरुआत गरेको हो । बाँकेमा भैरहेको कोर्षमा ३२औं ब्याचले प्रशिक्षण लिइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here