२६ माघ, नेपालगञ्ज । डुडुवा गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न भएको छ ।
विहीबार सम्पन्न गाउँसभाले चालु आर्थिक वर्ष २०८०÷०८१ को केही कार्यक्रम तथा योजनालाई संशोधन गरेको छ । सभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले संशोधित कार्यक्रम तथा योजनासहितको प्रस्ताव पेश गरेका थिए । प्रस्तुत प्रस्तावमाथी छलफल गर्दै सभाले सर्बसम्मत रुपमा पारित गरेको थियो ।
अध्यक्ष चौधरीले आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि पुस मसान्तसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
सभामा बोल्दै अध्यक्ष चौधरीले पालिकाले विशेष रणनीति र कार्ययोजनाका साथ अघि बढिरहेको भन्दै स्वास्थ्य, शिक्षा, कृषि, पशुलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको बताए । पालिकाले एउटा लक्ष्य र उद्देश्यअनुरुप नै कार्य गरिरहेको क्रममा विपक्षी दलहरुले बेलाबेलामा अवरोध श्रृजना गरेको भन्दै अध्यक्ष चौधरीले भने, ‘राम्रो काम गर्नेलाई कसैले पनि रोक्न सक्दैन, जनताको हितमा नै काम गरिरहेको छु, म कानून विपरित कुनै पनि काम गरेको छैन ।’
सभामा १९ जना सदस्यहरुको सहभागिता रहेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बहुमतको आधारमा बैठकको कोरम पुगेर सभा बसेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सदस्य सचिव गिरबहादुर सेजुवालले बताए ।
सभामा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, वडाअध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँलगायत सदस्यहरुको सहभागिता रहेको थियो । माघ ४ गते डाकिएको गाउँसभामा कोरम नपुगेर स्थागित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here