९ मंसिर, नेपालगञ्ज । नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले नवौ धारा नेपालगञ्ज म्याराथनको उपाधी जितेका छन् । पार्कीले दोस्रो पटक नेपालगञ्ज म्याराथनको उपाधी जितेका हुन् । उनले यसअघि छैठौ संस्करण जितेका थिए ।
पार्कीले नेपालगञ्ज म्याराथन २ घण्टा २१ मिनेट ३८ सेकेन्डमा पूरा गरेका छन् । उनले डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पारेका छन् । गतवर्ष २ घण्टा २० मिनेट २८ सेकेन्डमा दुरी पार गरेर उपाधी जितेका खड्काले यसपाली २ घण्टा २२ मिनेट एक सेकेन्डमा दुरी पार गरेर दोस्रो भएका छन् ।
सातौ संस्करणका च्याम्पियन एपीएफका किरणसिंह बोगटी तेस्रो भएका छन् । उनले २ घण्टा २५ मिनेट ४३ सेकेन्डमा दुरी पार गरेका थिए । सन्तोषविक्रम विष्ट चौथो, मोहनदेव जोशी पाँचौ, प्रेमबहादुर बस्नेत छैठौ, शेरबहादुर बुढा सातौ र अजय विके आठौं भएका छन् ।
म्याराथनको उपाधी जितेका पार्कीले दुई लाख, दोस्रो भएका खड्काले एक लाख, तेस्रो भएका बोगटीले ५० हजार पाएका छन् । चौथो भएका विष्टले २५ हजार, पाँचौ भएका जोशीले १५ हजार, छैठौ भएका बस्नेतले १० हजार, सातौ भएका बुढा र आठौ भएका विकेले ५÷५ हजार पुरस्कार पाएका छन् ।
हाफ म्याराथन (महिला) मा धादिङकी सन्तोषी श्रेष्ठले ह्याट्रिक गरेकी छन् । लगातार तेस्रो पटक उपाधी जित्दै श्रेष्ठले ७५ हजार रुपैया पुरस्कार पाएकी छन् । श्रेष्ठले एक घण्टा २० मिनेट ५१ सेकेन्डमा दुरी पार गरेकी छन् । आठौंमा उनले एक घण्टा १६ मिनेट ४८ सेकेन्डमा दुरी पार गरेकी थिइन् । हाफ म्याराथनमा फूलमति राना दोस्रो भएकी छन् । उनले एक घण्टा २१ मिनेट एक सेकेन्डमा दुरी पार गरिन् । दोस्रो भएकी रानाले ५० हजार पुरस्कार पाइन् । छैठौ संस्करणमा उपाधी जितेकी पुष्पा भण्डारी तेस्रो भएकी छन् । एक घण्टा २३ मिनेट ३६ सेकेन्डमा दुरी पारेकी उनले २५ हजार पुरस्कार पाएकी छन् । चौथो भएकी विन्द्राधान्के श्रेष्ठले १५ हजार, पाँचौ भएकी राज्यलक्ष्मी रावलले १० हजार, छैठौ भएकी गणना भण्डारीले ५ हजार पुरस्कार पाएकी छन् ।
१० किलोमिटर दौडमा पुरुषतर्फ दुर्गाबहादुर बुढा, नरेन्द्रसिंह रावल र धर्म महर्जन क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका छन् । १० किलोमिटर महिलातर्फ राममाया बुढा प्रथम, आशा रावत दोस्रो र मनसरा बुढा तेस्रो भएकी छन् । १० किलोमिटर दौडको महिला र पुरुष दुवैका विजेताले ३० हजार, १५ हजार र १० हजार रुपैया पुरस्कार पाएका छन् ।
स्कूलस्तरीय ५ किलोमिटर दौडमा छात्रतर्फ दिपेन्द्र बोहरा प्रथम, अजय पाण्डे दोस्रो र सरोज सिंह तेस्रो भएका छन् । छात्रातर्फ कल्पना बुढा प्रथम, विमला कार्की दोस्रो र मोतिकला डाँगी तेस्रो भएकी छन् । उनीहरुले ५ हजार, तीन हजार र दुई हजार पुरस्कार पाएका छन् ।
५ किलोमिटर ह्वीलचियरमा पुरुषतर्फ यज्ञबहादुर खत्री प्रथम, रोहितकुमार तमोली दोस्रो र शमशेर अलि बेहना तेस्रो भएका छन् । उनीहरुले ५ हजार, तीन हजार र दुई हजार पुरस्कार पाएका छन् । ५ किलोमिटर ह्वीलचियरको महिलातर्फ देउकुमारी थारु प्रथम र श्यामकलि थारु दोस्रो भएका छन् । उनीहरुले पाँच हजार र तीन हजार पुरस्कार पाएका छन् ।
किड्स रनमा छात्रतर्फ अभिशेष खड्का प्रथम, आयुश रावल दोस्रो र प्रवीण राना तेस्रो, छात्रातर्फ कृति परियार प्रथम र हिमानी बटाला दोस्रो भएका छन् । ५ किलोमिटर कर्पोरेट रनमा योगेश मल्ल प्रथम भएका छन् ।
म्याराथनका विजेताहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्य, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपालगञ्ज म्याराथनका संस्थापकका अध्यक्ष टीएस ठकुरी, केएल दुग्गडका सिइयो प्रदीप छाजेड, डाइरेक्टर सौरभ दुगडलगायतले पुरस्कार वितरण गरेका थिए ।
एशोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यता पाएको नेपालगञ्ज म्याराथन नेपाल सरकार र तत्कालिन सशस्त्र माओवादीका बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा गर्ने गरिन्छ । यो वर्षको म्याराथन विजेताले लण्डन म्याराथनमा अवसर पाउने आयोजकले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here