२४ कार्तिक, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले रातो नम्बर प्लेटका इ–रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाउने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा शुक्रवार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाबीचको बैठकमा निजी प्रयोजनका लागि खरिद गरिएका रातो नम्बर प्लेटका इ–रिक्सामा यात्रु बोक्ने क्रम बढेपछि अबदेखि यात्रु बोक्न प्रतिबन्ध लगाइने भएको हो ।
रातोलाई कालो नम्बर प्लेट बनाउन लगाउने र त्यसका लागि १५ दिने सूचना जारी गर्ने निर्णय गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ–रिक्सा रातो नम्बर प्लेटमा चलिरहेकोले ती इ–रिक्सालाई कालो नम्वर प्लेट बनाउन लगाउने र त्यसका लागि सम्बन्धित सवारी धनीलाई जानकारी गराउन १५ दिने सूचना जारी गर्ने निर्णय गरिएको छ ।
यस्तै नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र पर्ने इ–रिक्सा चलाउने अधिकांश चालकहरुले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिना नै इ–रिक्सा चलाइरहेकले ती चालकलाई लाइसेन्स दिलाउनका लागि नेपालगञ्ज उपमहानगरपालिका, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी लगायत सम्पूर्ण सरोकारवालाको समन्वयमा सहजीकरण गरिदिने निर्णय भएको छ । रातो नम्बर प्लेटका इ–रिक्सालाई कालो नगराएको अवस्थामा प्रचलित कानुन बमोजिम कार्वाही गरिनेछ ।
यस्तै फोहोरमैलामैला व्यवस्थापन प्रभावकारी बनाउन सरोकारवालाबीच समन्वय वैठक बसी समाधान गर्ने निर्णय समेत भएको नगर प्रमुख विष्टले बताए ।
नेपालगञ्ज उपमहानगरपालिकामा हाल २ हजार ८ सय इ–रिक्सा मात्र सूचीकृत भएका छन् । नगरमा नियम कानुन विपरीत जथाभावी इ–रिक्सा गुडेपछि दुर्घटना बढेको छ । त्यसलाई रोक्न कडा नियमन गरिने भएको हो ।
नेपालगञ्जले थेग्न सक्ने भन्दा ठूलो संख्यामा इ–रिक्सा गुडेकाले त्यसलाई नियमन गर्न इ–रिक्सा व्यवस्थापनको कार्य प्रभाकारी ढंगले अघि बढाउन सरोकारवालासंग बैठक गरेर आवश्यक निर्णय गरिएको विष्टको भनाई छ । नेपालगञ्ज उपमहानगरपालिकाले इ–रिक्सा व्यवस्थापनका लागि निरन्तर पहलकदमी लिँदै आएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, ट्राफिक प्रहरी प्रमुख गोपीचन्द्र सुवेदी, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि, नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here