२२ असोज, नेपालगञ्ज । मुठ्ठीदान मार्फत् ‘नेपालमा साइकल कानुन’ निर्माण र ‘साइकल संस्कृति अभियान’लाई सघाउन ‘चित्रकलामा साइकल संस्कृति’ कार्यशाला राजधानीमा सम्पन्न भएको छ ।
वातावरणीय न्यायको सशक्त माध्यमका रुपमा साइकल संस्कृति स्वीकार गरेर विश्व साइकल दिवस घोषणा सहित संयुक्त राष्ट्रसंघले दीगो विकासको लक्ष्य तय गरेको छ । यस वर्षको विश्व पर्यटन दिवस ‘ग्रीन इन्भेष्टमेन्ट’ नारामा केन्द्रित थियो । यसै सन्दर्भमा ‘साइकल कल्चर कम्युनिटी’ले मुठ्ठीदान मार्फत ‘चित्रकलामा साइकल संस्कृति’ विषयक कार्यशाला शनिवार सम्पन्न गरेको हो ।
‘साइकल कल्चर कम्युनिटी’का संयोजक तारालाल श्रेष्ठले दिनु भएको जानकारी अनुसार महिला साइक्लिष्टको नेतृत्वमा ललितपुरबाट शुरु गरिएको साइकल राइड नेपाल पर्यटन बोर्डमा पुगेर कार्यशालाको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा नेपालका ख्यातिप्राप्त साइक्लिष्ट अजय पण्डित क्षेत्री, उषा खनाल र सुरज रानालाई अन्तर्राष्ट्रिय जगतमा नेपाललाई साइकल खेलकूद मार्फत् चिनाएकोमा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपतिहरु किरण मानन्धर, रागिनी उपाध्याय र के.के. कर्माचार्यले खादा ओढाएर सम्मान गरेका थिए ।
त्यसैगरि महिला साइक्लिष्ट सिकाईका अगुवा लक्ष्मी श्रेष्ठ र उर्मिला शाक्यलाई महिला साइक्लिष्टहरु वृद्धि गर्न योगदान दिएकोमा वरिष्ठ कलाकारबाट सम्मान गरिएको थियो । प्राध्यापक अभि सुवेदीको उत्प्रेणात्मक मन्तव्य सहित क्यानभासमा स्थापित साइक्लिष्टको संलग्नतामा वरिष्ठ कलाकार तथा सहभागीहरुद्वारा संयुक्त रुपमा चित्रकला कार्यशालाको समुदघाटन गरिएको थियो । सम्मानित साइक्लिष्ट सहित पूर्वकूलपतिहरु तथा प्राध्यापक सुवेदीले संयुक्त रुपमा पानसमा बत्ती बालेर क्यानभासमा सबैले रंगहरु भर्दै सामूहिक चित्राकृति बनाएर बनाएका थिए ।
नेपाल पर्यटन बोर्डको कोर्टयार्डमा सम्पन्न उक्त खुल्ला चित्रकला कार्यशालामा एक जना कलाकारले दुईवटा क्यानभासमा चित्रकृति तयार पार्ने उद्देश्य रहेकोमा कार्यशालामा ३६ वटा चित्रकृति तयार गरिएको संयोजक श्रेष्ठले जानकारी दिए । सुप्रसिद्ध चित्रकार शशि विक्रम शाहले घरबाटै चित्रकृति बनाई कार्यशालामा पठाएका थिए भने अन्य वरिष्ठ कलाकारहरुले चित्राकृति घरमै बसेर पनि पूरा गर्ने काम भइरहेको छ । ३३ जना कलाकारहरु सहभागिता रहेको सो कार्यशालामा पूर्णता दिन नसकिएका केही कलाकृतिहरु कलाकारहरुले घरमै लगेर पूर्णता दिने काम भइरहेको छ र ती सबै कलाकृतिहरु संकलन गरेर क्याटलग प्रकाशन सहित आसन्न वडा दशैंको लगत्तै नेपाल कला परिषद् आर्ट काउन्सिलमा प्रदर्शनी गरिने लक्ष्य रहेको संयोजक तारालाल श्रेष्ठले जानकारी दिएका छन् ।
साँस्कृतिक महत्वका सम्पदा क्षेत्रमा आमभेला तथा अन्तरक्रिया सहित सात वटै प्रदेशमा नेपालमा साइकल कानुन र साइकल संस्कृति अभियान अघि बढाउने आयोजक संस्थाले लक्ष्य लिएको छ । यस कार्यबाट साइकल संस्कृति अभियानलाई कलात्मक किसिमले बौद्धिक जगतसँग जोड्ने प्रयास भएकोमा अतिथिहरुले प्रशंसा गरेका थिए । वरिष्ठ कलाकार, साहित्यकार तथा अभियन्ताहरुले आगामी दिनमा पनि यस किसिमका कलात्मक अभियानमा योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here