२० असोज, नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वार्ड नं. ५ बेलहरीका स्थानीयलाई कानूनी पहिचान नागरिकता र जन्मदर्ताका बारेमा एक दिने अभिमुखीकरण गरिएको छ ।
महिला कानून र विकास मञ्च र सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्वारा शनिबार कानूनी पहिचान (नागरिकता र जन्मदर्ता) सामुदायिक सचेतना कार्यक्रमका सहभागिहरुलाई नागरिकता लगायतका विषयमा अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले मधेशी तथा ग्रामिण क्षेत्रमा नागरिकता र जन्मदर्ताको महत्वबारे स्थानीयलाई अझ बढी बुझाउनुपर्नेमा जोड दिइएका थिए । मधेशी समुदायका नागरिकले काम परेपछि मात्र नागरिकता, जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्ता, सम्वन्ध विच्छेद, बसाई सराई दर्ता गराउने भएकाले समयमा दर्ता गराउने कार्यमा स्थानीय तहको भुमिका प्रभावकारी बनाउनुपर्ने बताइएको थियो ।
कार्यक्रममा अधिबक्ता विश्वजित तिवारीले नेपाली नागरिकको बैधानिक पहिचानका लागि नागरिकता बनाउनुपर्ने भन्दै संविधानले व्यवस्था गरेको मौलिक हकलाई पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
उनले नागरिकको पहिलो पहिचान नै नागरिकता भएकोले नेपालमा जन्मिएका सबैले नागरिकता बनाउनुपर्ने आग्रह गर्दै नेपालको संविधानले नागरिकता सम्वन्धी गरेको व्यवस्थालाई सम्वन्धित निकायले अझै पनि कार्यान्वयन नगरेको भन्दै चिन्ता व्यक्त गरे । उनले आमाको नामबाट नागरिकता दिने भनेर कानूनले व्यवस्था गरेको तर स्थानीय प्रशासनले सहज रुपमा नदिएपछि अदालत जानुपर्ने अवस्था रहेको बताए ।
वडाध्यक्ष टिकानाथ यादवले वडा कार्यालयले नागरिकता लगायतका कानूनी प्रक्रिया पुगेकालाई विभिन्न सिफारिसहरु सहज रुपमा उपलब्ध गराउदै आएको भन्दै स्थानीय नागरिकहरुलाई यसबारे सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
उनले विशेष गरि मधेशी समुदायका अशिक्षित नागरिकले जन्मदर्तालगायत कानूनी पहिचानको महत्व नबुझेकाले आवश्यकता परेमा मात्र बनाउने गरेकाले प्रक्रिया झझण्टिलो हुने, जरिबाना शुल्क तिर्नुपर्ने अवस्था रहेको बताए । वडाध्यक्ष यादवले सबै कार्यहरु समयमा गर्दा जरिवाना पनि नलाग्ने र कानूनी बाधा अड्चन समेत नआउने भएकाले सबै सेवाग्राहीहरुलाई जन्मदर्ता र नागरिकता बनाउन आग्रह गरे ।
कार्यक्रममा वडा सदस्य मोहम्मद शरिफ खाँ, अभियन्ता सुर्यलाल यादव, अरुणकुमार तिवारी, रामवरण अहिर लगायतले बोलेका थिए । त्यसक्रममा सहभागीहरुले नागरिकता प्राप्त गर्न भोगेका समस्या र कानून उपचारका बारेमा जिज्ञासा राखेका थिए ।
कानूनी पहिचान नागरिकता र जन्मदर्ता भनेको के हो, प्राप्त गर्न अपनाउनुपर्ने प्रक्रिया, यसको महत्व तथा प्रयोगलगायतका बारेमा पत्रकार राकेशकुमार मिश्रले सहजीकरण गरेका थिए । कार्यक्रममा करिब ७५ भन्दा बढी स्थानीयहरुको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here